तनहुँमा साहसिक खेल जीपलाइनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

Posted on: November 06, 2022 | views: 165 रासस

तनहुँ, कात्तिक २० । जिल्लाको व्यास नगरपालिका-१० स्थित पीजनहिलदेखि व्यास-५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ ।

बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल पनि परिवारसहित उक्त स्थानमा पुग्नुभयो । आफूलाई यस्ता साहसिक खेलप्रति रुचि भएकोले बिदाको समय मिलाएर खेलको मनोरञ्जन लिन आएको उनले बताए । 

यसअघि प्याराग्लाइडिङ गरिसकेको बताउँदै प्रजिअ अर्यालले सहजै खेलमा भाग लिई मनोरञ्जन लिएपछि भने, “सुरक्षित तरिकाले बनाइएकोले खासै डराउनुपर्दैन् । यस्ता खेलले जिल्लाको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्छ । ”

त्यसैगरी गोरखादेखि आएकी सुविना भण्डारीले जीपलाइनको यात्रा मनोरञ्जन हुने भएकोले दोस्रो पटक खेलमा सहभागी हुन आएको बताइन् । पहिलो पटक चितवनमा रहेको जीपलाइनमा सहभागी भए पनि त्यहाँको भन्दा यहाँको लामो भएकोले थप अनुभव लिन आएको उनले बताइन् । 

यही कात्तिक ३ गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक विवेक सापकोटाको भनाइ थियो । भारतको दिल्लीस्थित द एड्भेन्चर प्लान्टले रु एक करोड दश लाखको लागतमा ठेक्का सम्झौता गरी उक्त जीपलाइन निर्माण गरेको हो । उनले भनिन्- “करिब पाँच महिनाको अवधिमा सबै जडान कार्य सम्पन्न भएपछि जीपलाइन सञ्चालनमा ल्याइएको हो ।” जीपलाइन सञ्चालन भएदेखि हालसम्म दुईसय पचास जना साहसिक खेलमा सहभागी भइसकेको सञ्चालक सापकोटाले बताइन् ।

जीपलाइनमा रु एक हजार पाँच सय शुल्कमा खाजासेट र अन्य रमणीय दृश्यावलोकनसमेत हेर्न पाइने गरी व्यवस्था मिलाइएको छ । एक पटकमा एकै पटक दुई जनासम्मले खेलमा सहभागी हुन सक्ने छन् । सुरु स्टेशनबाट मादी नदीका साथै  रमणीय डाँडा, फाँटको मनोरञ्जन लिँदै ल्याण्ड स्टेशन  करिब ४५ सेकेन्डमा पार गर्न सकिन्छ । ल्याण्ड स्टेशनबाट पैदलमा करिब पाँच-सात मिनेटमा पुनः वारिको स्टेशनमा आउन सकिन्छ ।  


Share your thoughts!