देखिन छाड्यो निकुञ्जमा बाह्रसिंगे

Posted on: June 06, 2021 | views: 76 रासस

चितवन, जेठ २३ । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुल्ला खोरमा देखिन छाडेको हो ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो । उनले भने, “गत असोजदेखि खोरभित्र देखिएको छैन ।” कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे एकिन हुन नसकेको उनको भनाई छ । 

वि.सं. २०७४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । ती मध्ये पाँच  पोथी र दुई भाले रहेका थिए । ती मध्ये दुई पोथी ल्याउने वित्तिकै  मरेका थिए । अन्य पाँच  मध्ये चार  विभिन्न कारणले मरिसकेका छन् । अर्नासँगै रहेको एउटा मात्रै बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो । 

तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५  बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ । 

सरकारले प्रजाती संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ । 


Share your thoughts!