ओस्लो । विश्वका फरक मुलुकहरुमा फरक किसिमको समाचार सुन्न पाइन्छ । यस्तोमा नर्वेकी एक युवतीले आफूलाई बिरालो जस्तै भएको भावना आउने बताएकी छिन् । नानो नाम गरेकी एक युवती आफूभित्र बिरालोको जस्तो भावना बढ्दै गएको दाबी गर्छिन् ।
उनको यस किसिमको भावनाको कारण उनको चाल–चलन तथा हर्कतहरु पनि बिरालोको जस्तै हुन थालेका छन् । नानोका अनुसार उनीमा अन्य मानिसहरुमा भन्दा सुँघने क्षमता पनि बढी रहेको छ । साथै उनी अँध्यारोमा पनि अरुले भन्दा राम्ररी देख्न सक्छिन् ।
यतिमात्र होइन, उनी आफ्नी मिल्ने साथीसँग पनि म्याऊँ गरेर बिरालोकै भाषामा कुरा गर्छिन् । उनी पानी मन पराउँदिनन् । यद्यपि उनी आफूमा केही मानसिक समस्या रहेको बताउँछिन् । अहिले उनी २० वर्षकी भएकी छिन् र उनलाई यस किसिमको भावना १६ वर्षदेखि आउन लागेको उनको भनाइ छ ।
डक्टरहरुले परीक्षण गरेर यो समस्याबाट बाहिर ल्याउनसक्ने बताएका छन् तर उनी आफ्नो सारा जीवन बिरालो नै बनेर बिताउन चाहन्छिन् ।