बैतडीमा खोज र खोप अभियानलाई प्राथमीकता दिने

Posted on: July 25, 2022 | views: 169 सुशासन संवाददाता

 बैतडी, साउन ९ । बैतडीको दशरथचन्द नगरपालिकामा कोभिड १९ विरुद्धको खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन खोज र खोपको अभियानलाई तिब्रता दिन सरोकारवाला निकाएले प्रतिबद्धता जनाएका छन् । 

युनिसेफ नेपालको सहयोग दशरथचन्द नगरपालिकाको समन्वयमा बास नेपालले सोमबार जिल्ला सदरमुकाम बैतडीमा आयोजना गरेको कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणाका विषयमा पालिका स्तरीय समन्वय बैठकका सहभागिहरुले खोप अभियानलाई खोज अभियानको रुपमा अघाडी बढाउनु पर्ने कुरामा जोड दिएका हुन् । 

कोभिड १९ विरुद्धको खोप विभिन्न मात्राका डोज लगाउन छुटेका हरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुस्कर राज जोशीले आग्रह गरेका छन् । उनले भने, 'कोभीड १९ विरुद्धको खोप लगाउन कुनै नागरिक छुट्दैनन, नगरपालिकाले आवश्यक खोपको ब्यवस्थापन गर्छ छुटेका सबै नागरिकले आफ्नो नजिकको खोप केन्द्रमा गएर खोप लगाउनु पर्यो ।' 

नगरपालिका भित्र खोप लगाउन छुटेकाहरुको तथ्यांक संकलनमा बास नेपालले खोजको अभियानलाई सहयोग गर्नुपर्ने, खोप लगाउन छुटेकाहरुलाई नगरपालिकाले खोप लगाउने बताउदै बास नेपालले संचालन गर्ने सम्पूर्ण कार्यक्रमलाई साझेदारीका रुपमा सहयोग गर्ने समेत नगर प्रमुख जोशिले बताए । 

कोभिड १९ विरुद्धको खोप लगाउन छुटेकाहरुले अनिबार्य रुपमा खोप लगाउन आवश्यक रहेको बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताए । उनले भने,  'कोभिड १९ बिरुद्धको सबैभन्दा भरपर्दो माध्यम भनेको खोप हो त्यसैले आम नागरिकले खोप लगाउन आवश्यक छ ।' 

पालिकाहरुले पनि आफ्नो पालिकाभित्र बसोबास गर्ने आम नागरिकलाई खोप लगाउन विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्ने समेत प्रजिअ पन्थीले बताए । कोभिड संक्रमणको जोखीमबाट बच्न सबै सचेत हुन आवश्यक रहेको बताउदै बैतडीका सिमा नाका र भिडभाडहुने क्षेत्रमा कोभिड संक्रमणको सुरक्षा सर्तकता बढाईने समेत प्रजिअ पन्थीले बताए । 

बैतडी जिल्लाका विभिन्न पालिकाहरु बाट खोप लगाउनु छुटेका ब्यक्तीहरुको तथ्यांक सहित खोपको माग भई आएमा प्रदेश सरकारसंग समन्वय गरेर खोपको ब्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेन्द्र प्रसाद भट्टले बताए । 

बास नेपालले बैतडीको दशरथचन्द नगरपालिकामा स्वयंमसेवकहरु मार्फत कोभिडको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए । बास नेपालले दशरथचन्द नगरपालिकाका केही वडाहरुमा कोभिड १९ विरुद्धको खोप लगाउन छुटेकाहरु तथ्यांक लिईसकेको र अन्य वडाहरुमा पनि छुटेकाहरुको तथ्यांक लिन बासका स्वयंमसेवकहरु परिचालन गरि नगरपालिकालाई जानकारी गराईने समेत अधिकृत मौनीले बताए । 

कार्यक्रममा सहभागि अधिकांश ब्यक्तिहरुले बैतडीमा कोभिड खोप लगाउन नमान्नुको कारण केहो पत्ता लगाई सोही अनुरुपमा कार्यक्रमहरु अघाडी बढाउन सके थप प्रभावकारी हुने समेत सुझाब दिएका थिए । 

दशरथचन्द नगरपालिकाका नगर प्रमुखको अध्यक्षतामा संचालन भएको बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी, ससस्त्र प्रहरी बलका प्रमुख, हनुमानध्वज गुल्मका प्रमुख, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख नगरपालिका अन्र्तगतका सम्पूर्ण शाखा प्रमुख, बासका स्वयंमसेवक, कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । 


बास नेपालले युनिसेफको सहयोगमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण, जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता र लैगिंक हिंसा न्यूनिकरण परियोजना संचालन गरिरहेको छ ।

Share your thoughts!