राष्ट्रिय परिचयपत्रका लागि भक्तपुरमा १८ हजार जनाको विवरण संकलन

Posted on: October 25, 2021 | views: 165 रासस

काठमाडौं, कात्तिक ८ । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन् ।

यसैबीच सूर्यविनायक नगरपालिका ६ देखि १० सम्म सोमबारदेखि अभियान शुरु भएको छ । अभियान अन्तर्गत प्रत्येक वडामा ३ वा ४ केन्द्र रहनेछन् । एक केन्द्रमा एक कम्युटर अपरेटर, दुई छानबिन गर्ने अधिकारी र एक जना सहयोगी रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

उनले छिट्टै भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा पनि छिट्टै अभियान सञ्चालन गरिने बताइन् । ‘भक्तपुर नगरपालिकामा एक दुई दिनभित्रै रुजु अधिकारीलाई अभिमुखीकरण गरेर कार्यस्थल खटाइ अभियान शुरु गर्ने तयारी भइरहेको छ । त्यसपछि मध्यपुरथिमिमा अभियान शुरु गर्छौं,’ उनले भनिन् ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका व्यक्तिगत र जैविक विवरण प्रविष्ट हुने भएकाले यो बहुउपयोगी भएको र भविष्यमा अनिवार्य जस्तै हुने भएकाले सबै नागरिकले विवरण भरेर बुझाउन प्रजिअ शर्माले आह्वान गरेकी छन् ।


Share your thoughts!