कर्णाली करिडोर एक सातादेखि बन्द

Posted on: July 31, 2022 | views: 82 रासस

कालिकोट, साउन १५ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका-८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरुबीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए ।

“म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उनले भने । हिले सडकमा ढुङ्गा-माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे-हम्मे भएको चालक खड्का बताउँछन् ।

“हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका-७ का कृष्णबहादुर बमले भने । सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको  पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए । “सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ”, उनले भने । 


Share your thoughts!