आगलागीमा परेर एकको मृत्यु, लाखौंको धनमाल जलेर नष्ट

Posted on: January 06, 2022 | views: 147 सुशासन संवाददाता

काठमाडौं, पुस २२ । देशका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने, लाखौंको विभिन्न धनमाल जलेर नष्ट भएको छ । 

प्रहरीका अनुसार झापा मेचीनगर नगरपालिका-७ पिपल चोक बस्ने केशब पाठकको घरमा बुधबार राति भएको आगलागी निभाउने क्रममा जलेर सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको छ । आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त आगलागी निभाउने क्रममा घाइते भएका ११ जनालाई उपचारका लागि बीएनसी अस्पताल बिर्तामोडमा पठाइएको छ । हाल आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन् । 

यसैगरी पाँचथर फालेलुङ गाउँपालिका-६ बर भञ्ज्याङ बजार बस्ने जित बहादुर मेङबा लिम्बुको घरमा करेन्ट सर्ट भई बुधबार राति आगलागी भई बस्तीमा समेत फैलिदा ३ वटा घरमा रहेका पसल जलेर करिब १ करोड ९० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर,  प्रहरी चौकी सिदिन, प्राङबुङ, अस्थायी प्रहरी चौकी नागिन, सशस्त्र प्रहरी बल नेपाल, स्थानीयबासीहरू तथा २ वटा दमकल सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको छ । 

यसैगरी बाँके कोहलपुर नगरपालिका-२ बर्दवा बस्ने हरिनारायण थारुको  घरमा करेन्ट सर्ट भई बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । 

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!