आगलागीमा परी एक महिलाको मृत्यु, लाखौंको धनमाल जलेर नष्ट

Posted on: April 26, 2021 | views: 185 सुशासन संवाददाता

काठमाडौं, वैशाख १३ । स्याङ्जा आँधीखोला गाउँपालिका-१ अर्घौदी शहरेखोलास्थित सामुदायिक जंगलमा भएको आगलागीमा परी सोही ठाउँ बस्ने ७२ वर्षीया टिका कुमारी तिवारीको आइतबार दिउँसो मृत्यु भएको छ । आगलागी जंगल नजिकैको परालको टौवा समेतमा फैलिँदा टौवा नजिकै रहेकी उनको जलेर मृत्यु भएको हो । 

यसैगरी काठमाडौं शंखरापुर नगरपालिका-१ लामाटोल बस्ने ४५ वर्षीय मुईसानि न्युसार लामाको टहरामा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी रोल्पा लुङ्ग्री गाउँपालिका-५ उपल्लो सेवार गोठिखर्क बस्ने तुले घर्ती मगरको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख ५७ हजार ९ सय ६० रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी धनुषा जनकपुर उपमहानगरपालिका-१४ स्थित मुजेलिया विद्युत सव स्टेशनको कम्पाउण्डमा राखिएको फोहोर जलाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा उक्त कार्यालयभित्र राखिएको पुरानो टाटा कम्पनिको पिकअप तथा टोयटा गाडी आंशिक तथा अन्डर ग्राउण्ड केवलको तार पूर्ण जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सिन्धुली सुनकोशी गाउँपालिका-५ स्थित सहस्रत्र धारा सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने धन बहादुर बिक समेत ४ जनाको गोठ जलेर करिब १४ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!