काठमाडौं । नेपालको सुरक्षा संयन्त्रभन्दा पनि माथि आफ्नो पहुँच रहेको जनाउ दिँदै भारतीय एजेन्सीहरूको सक्रियता प्रभावकारी रहेको सुनसरीको हरिनगरा–२, भुटाहामा खुर्शिद आलम अन्सारीको हत्याबाट पुष्टि भएको छ । ४ असोजमा आएका बन्दूकधारीले उनलाई गोली ठोकी भारतीय सीमा नाघेपछि अनेक कोणबाट हत्याका विषयमा टिप्पणी भएका छन् ।
तर, खुर्शिद हत्या भारतीय एजेन्सीको सक्रियताका आधारमा नै भएको बुझ्न कठिन छैन । खुर्शिदको हत्या गरी भागेको चार जनाको समूहलाई सुनसरीको दक्षिणवर्ती घुस्कीमा रहेको प्रहरी चौकीका एकजना जवानले रोक्न खोजे । जवानमाथि पनि त्यो सुटर समूहले गोली चलायो तर मार्ने नियतले होइन । उक्त समूहको योजना नै खुर्शिदको हत्या गर्नु थियो । त्यो समूह खुर्शिदको दिनचर्या अध्ययन गरेर योजनाबद्ध ढंगबाट नै हत्याको मानसिकता बनाएर नेपाल छिरेको थियो भन्नेमा दुईमत देखिएन ।
खुर्शिद स्थानीय विद्यालय (मदरसा)का लागि एउटा गैरसरकारी संस्थामार्फत रकम ल्याउने गर्थे । पाकिस्तानीलगायत मुस्लिम सम्बद्ध संस्थाले उनले चलाएको मदरसाका लागि डोनेशन गरेका थिए । सन् २००८ मा मुम्बई बम हमला गराउनेलाई संरक्षण दिएको हल्ला चलाइएको छ । तर सर्वसाधारण भन्छन्, ‘उनी त्यति ठूलो योजनामा संलग्न थिए भन्ने ठाउँचाहिँ देखिँदैन । यद्यपि यो कूटनीतिक रूपमा नै परिणाम दिने योजनाअनुसार बनेको हत्या जस्तो देखिन्छ ।’
त्यसो त नेपाली कांग्रेसको राजनीति गरिरहेका हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जिल्ला विकास समितिको सदस्य हुँदा खुर्शिदलाई भारतले माग गरेको खुलासा गरेका छन् । उनको भनाइअनुसार भारत कुनै पनि बेला खुर्शिदलाई लैजाने योजनामा थियो । तर, दशकपछि मात्र किन हत्या भयो ? उच्च स्रोतहरू भन्छन्, ‘नेपालका मुस्लिम संघ संगठनमा अभ्यस्त भएका व्यक्तिलाई यही हिसाबले परिणाम दिने भारतीय एजेन्सीले गर्दै आएका छन् ।’
फैजानसँग नाता
पूर्वएमाले जिल्ला सल्लाहकार खुर्शिद केही वर्षअघि जामे मस्जिद काठमाडौं अगाडि दिउँसै हत्या गरिएका मुस्लिम संघका तत्कालीन महासचिव फैजान अहमदका नाता थिए । उनी फैजानका भिनाजु पर्छन् । खुर्शिदको घर भुटाहामा हो भने फैजानको घर सुनसरीकै भोक्राहामा थियो । उक्त क्षेत्रमा मुस्लिम समुदायका नातेदारहरूको ठूलो बस्ती छ ।
अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग जोडिने नेपालमा भएका हत्या श्रृङ्खलाअन्तर्गत नै खुर्शिद हत्यालाई राखेर हेरिन थालेको छ । यस्तो सुरुआत सांसद मिर्जा दिलसाद बेगलाई राजधानीको मित्रपार्कमा हत्यादेखि विश्लेषण गर्न थालिएको छ । सरकारले गठन गरेको छानबिन समितिले पनि सोही ठाउँबाट हत्याको प्रकृतिलाई नियाल्न थालेको छ । मिर्जापछि ०५९ सालमा दाउद इब्राहिम समूहका शरद सेट्ठीको हत्यामा बाल ठाकरेसँगै संलग्न रहेका कमलसिंह नेपालीको नयाँ बानेश्वरमा हत्या भयो । भारतीय गुप्तचर संस्थाहरूको निर्देशन र निगरानीमा १० पुस ०६६ मा बुटवल ४ मैना बगरमा परवेज टान्डा भन्ने सौकत अलि बेगको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरेका थिए । त्यस हत्यामा संलग्न मोहम्मद बकार सहिद रहेको भनी मृतककी पत्नीले लाइसेन्समा रहेको आरोपीको फोटो हेरी सनाखत गरेकी थिइन् । पछि यिनै बकारले जमिम शाहलाई गोली हानी हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।
१९ असोज ०६६ मा नेपालगन्जको लालीगुराँस होटलमा स्थानीय अब्दुल मजिद मनिहारको हत्या भयो । मनिहारले भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । यो श्रृङ्खला यतिमा सकिएन । सञ्चार उद्यमी जमीम शाहको २४ माघ ०६६ मा काठमाडौंको लाजिम्पाटमा हत्या भयो । प्रहरीका तत्कालीन डीआईजी राजेन्द्रसिंह भण्डारी तथा पूर्वन्यायाधीश गोविन्द उपाध्यायको छानबिन आयोगद्वारा भारतीय आपराधिक समूहबाट हत्या भएको ठहर थियो । भारतीय अपराधीहरूले उनलाई भारतविरोधीको संज्ञा दिँदै आएका थिए ।
नक्कली भारतीय रुपैयाँको कारोबार अभियोगमा जेल सजाय भोगिरहेका युनुस अन्सारीलाई छोटा राजन र बब्लु श्रीवास्तव समूहका मनमित सिंहद्वारा २६ फागुन ०६७ मा जेलमै गोली प्रहार भएको भनिएको थियो । त्यसो त खुर्शिदलाई भारतले पठाउन भनेका बेला नेपालमा गृहमन्त्री वामदेव गौतम थिए । गौतमले इन्कार गरेपछि त्यसबेलै परिणाम दिने सोच बनाएको भारतको योजना पूरा हुन सकेको थिएन ।
भारतीय सुरक्षाकर्मीले कूटनीतिक माध्यममार्फत खुर्सिदलाई सुपुर्दगी गर्न पत्राचार गरेको थियो । गौतमले आफ्नै पार्टीका जिल्ला नेता खुर्सिदलाई भारतलाई दिन मन गरेनन् । भारत त्यस बेला नै गौतमसँग रिसाएको थियो । खुर्सिदले इन्डियन मुजाहिद्दीनका व्यक्तिहरूलाई सेल्टर दिएको भारतीय सुरक्षाकर्मीको आरोप छ । खुर्सिदको घरमा पटकपटक भारतीय सुरक्षाकर्मीले छापा मार्ने गरेको थियो ।
भारतीय सुटर रवि पाण्डेयले २०७० सालमा बारास्थित जितपुर–३ का पेट्रोलियम व्यवसायी आफताव आलमको गोली प्रहार गरेर हत्या गरेका थिए । उनै पाण्डेयले २०६८ सालमा काठमाडौंको महानगरीय प्रहरी कार्यालयको फैजान अहमदलाई गोली हानेका थिए । पाण्डेय जेलमा छन् ।
२०६७ साल फागुन २६ गते केन्द्रीय कारागारको सुरक्षा घेरा पार गरेर युनुस अन्सारीमाथि गोली प्रहार भएको थियो । अन्सारीलाई भारतीय नागरिक जसजीत (मनमित) सिंहले गोली प्रहार गरेका थिए । सिंह भारतीय प्रहरी हुन् । उनी भारत पुगिसकेको बताइन्छ । गृहमन्त्रालयले खुर्सिद हत्या घटनाको अनुसन्धान तथा छानविन गर्न एसएसपी किशोर दाहालको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।
२०१९ को योजना !
खुर्शिद हत्यालाई भारतीय संस्थापनले २०१९ को आम चुनावसँग जोडेर परिणाम दिएको हुनसक्ने अनुमान गरिएको छ । भारतमा आतंकवादविरुद्धको मुद्दाका परिणामलाई चुनावी एजेन्डा बनाए मत आउने संश्लेषण गरिन्छ । नोटबन्दी र छिमेकसँगको कूटनीतिक सम्बन्ध बिगारेको भन्दै आफ्नो आलोचना बढ्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा ‘सर्जिकल स्ट्राइक’ गरी भारतीय जनताको भावना आफूतिर पारेका थिए । खुर्शिद हत्यालाई पनि त्यसरी नै प्रस्तुत गर्न सकिने बताइन्छ ।