कतारलाई माग पूरा गर्न ४८ घण्टाको म्याद थप

Posted on: July 03, 2017 | views: 267 एजेन्सी

रियाद, असार १९ । साउदी अरेबिया र अन्य तीन अरब मुलुकहरुले कतारलाई माग पूरा गर्नको लागि दिइएको समयसीमा ४८ घण्टा थप गर्ने निर्णय गरेका छन् । आइतबार कतारलाई यसअघि दिइएको समयसीमा सकिएपछि उनीहरुले ४८ घण्टा समय थप गर्ने निर्णय गरेका हुन् ।

साउदीलगायतका अरब मुलुकहरुले कतारलाई अल जाजिरा बन्द गर्नेलगायतका १३ बुँदे माग पूरा गर्दै प्रतिबन्ध हटाउनको लागि प्रस्ताव गरेका थिए तर कतारले भने उनीहरुको यो मागलाई अस्वीकार गरेको थियो । खाडी मुलुकहरुले सोमबार यस विषयमा आधिकारिक पत्र कुबेत पठाउने बताएका छन् । सोमबार खाडी मुलुकका परराष्ट्रमन्त्रीहरुले कुबेतको भ्रमण गर्ने बताइएको छ ।

जुन २३ मा खाडी मुलुकहरुको कतार प्रतिबन्धको विषयमा छलफलको लागि बसेको बैठकले १० दिनको म्याद दिई १३ बुँदे माग राख्ने निर्णय गरेको थियो । यसअघि आतंकवादलाई सहयोग गरेको भन्दै कतारमाथि प्रतिबन्धको निर्णय गरिएको थियो । यो आरोपको कतारले भने खण्डन गरिसकेको छ । 


Share your thoughts!