उत्तर कोरियामाथि दबाब बढाउँदै चीन

Posted on: February 19, 2017 | views: 283 एजेन्सी

बेइजिङ, फागुन ८ । उत्तर कोरियाले केही दिनअघि गरेको मिसाइल परीक्षणलाई लिएर चीनले उत्तर कोरियामाथि दबाब बढाउने निर्णय गरेको छ । चीनले त्यसको प्रतिक्रियास्वरुप उत्तर कोरियाको कोइला आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

चीनको वाणिज्य मन्त्रालयले उत्तर कोरियाको कोइला आयातमा सन् २०१७ को अन्तिमसम्मको लागि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । गएको साता चीनले उत्तर कोरियाको १० लाख अमेरिकी डलरबराबरको कोइला लिनको लागि अस्वीकार गरेको थियो । 

उत्तर कोरियाको कमजोर अर्थतन्त्रमा सुधारको एक महत्वपूर्ण आधार रहेको कोइला निर्यातमा अहिले देखिएको नतिजाले प्रभाव पार्नसक्ने देखिएको छ । 

विश्लेषकहरुले भने मलेसियामा किम जोन उनका दाजु मारिएपछि भने चीन र उत्तर कोरियाको सम्बन्ध थप कमजोर बनेको बताएका छन् । उत्तर कोरियाबाट बाहिर रहेका उनका दाजु चीनको संरक्षणमा मकाउ बस्दै आएका थिए । उत्तर कोरियाको मिसाइल तथा हाइड्रोजन परीक्षणलाई लिएर यसअघि पनि विश्वका केही मुलुकहरुले उत्तर कोरियामाथि व्यापारिक प्रतित्तबन्ध लगाउने निर्णय गरेका थिए । गएको वर्ष चीनले पनि उत्तर कोरिया निर्यात हुने केही सामग्रीहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 


Share your thoughts!