सिरियामा हजारौं मानिसलाई मृत्युदण्ड : एम्नेस्टी

Posted on: February 07, 2017 | views: 247 एजेन्सी

काठमाडौं, माघ २५ । सिरियामा पाँच वर्षको अवधिमा हजारौं मानिसहरुलाई एक गोप्य जेलमा मृत्युदण्ड दिइएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताएको छ । संस्थाले एक नयाँ विवरण सार्वजनिक गर्दै सिरियामा सन् २०११ को सेप्टेम्बर महिनादेखि सन् २०१५ को डिसेम्बर महिनामा प्रत्येक साता सिरियाको साइड्नाया जेलमा मृत्युदण्ड दिइएको उल्लेख गरिएको छ ।  

विवरणमा देखिएअनुसारको मृत्यु दण्डको लागि सिरियाको उच्च सरकारी अधिकारीहरुको अनुमति रहेको पनि एम्नेस्टीले बताएको छ । यसअघि सिरियाको सरकारले अत्यधिक मानिसहरु मारेको भन्ने आरोप साँचो नरहेको बताउँदै आएको थियो । यद्यपि संयुक्त राष्ट्र संघका मानव अधिकार विज्ञले एक वर्षअघि प्राप्त भएको खाता र विवरणहरुको आधारमा १० लाखभन्दा बढी मानिसहरु पक्राउ परेका र अत्यधिक मात्रामा उनीहरु मारिएको पाइएको हो । 

एम्नेस्टी इन्टरनेशनलले लिएको एक अन्तर्वार्ताको क्रममा ८४ जना पूर्व सुरक्षा गार्ड, पक्राउ परेका मानिसहरु र जेलका अधिकारीहरुले प्रत्येक साता वा साताको दुई पटक २० देखि ५० जनासम्मको समूहलाई मृत्युदण्ड दिइएको खुलेको छ । एम्नेस्टीको विवरणमा उनीहरुलाई मृत्युदण्ड दिइनुपूर्व राजधानी सहर दमास्कसको काबोन क्षेत्रमा लगी उनीहरुको परीक्षण गरिने गरिएको थियो, जुन एक देखि तीन मिनेटमा सकिन्थ्यो । त्यसपछि उनीहरुलाई सैन्य अदालतमा पेश गरिन्थ्यो । 

सैन्य अदालतमा आरोपीहरुलाई सैन्य अदालतमा अधिराधमा संलग्न रहेको वा नरहेको भनी प्रश्न गरिने र त्यसमा हो वा होइन भन्ने उत्तरअनुसार उनीहरुलाई मृत्यु दण्ड दिइने गरिएको एम्नेस्टीको विवरणमा उल्लेख छ । एक पूर्व अदातलका न्यायाधीशले यो अदालतसँग कानुनको कुनै सम्बन्ध नरहेको बताए । 

आरोपीहरुलाई मृत्युदण्ड दिइने दिन उक्त जेलमा स्थानान्तरण गर्न लागिएको जानकारी गराइने र दुई देखि तीन घण्टासम्म उनीहरुलाई मरणासन्न हुने गरी पिट्ने गरिन्छ । त्यसपछि उनीहरुलाई आधा रातमा अखाँमा पट्टी बाँधी जेलको अर्को भागमा लगिन्छ र उनीहरुलाई घाँटीमा पासो लगाइनुपूर्व बल्ल अब तिमीहरु मृत्युको मुखमा पुग्दैछौ भनी जानकारी दिइने गरिएको एम्नेस्टीको विवरणमा छ । 

मृतयुदण्ड दिइएपछि उनीहरुको शवलाई एक लोरीमा राखी दमास्कसमा रहेको हस्पिटलमा लगी दर्ता गरेर पुर्ने गरिएको छ । एम्नेस्टीको विवरणअनुसार पछिल्लो पाँच वर्षको अवधिमा साइड्नाया जेलमा पाँच हजार देखि १३ हजार मानिसहरुलाई मृत्युदण्ड दिइसकिएको छ । 


Share your thoughts!