अफगानिस्तानमा भयावह बन्दै घरेलु हिंसा

Posted on: February 02, 2017 | views: 249 एजेन्सी

काबुल, माघ २० । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरेलु हिंसामा परेकी एक महिलाको दुवै कान काटिएको छ ।  घरेलु हिंसा धेरै हुने मुलुकमा यसअघि पनि यस्ता निकै घटनाहरु हुँदै आएका थिए । पछिल्लो शिकार भने जरिना नाम गरेकी महिला भएकी हुन् । उनले आफूले कुनै अपराध नगरेको बताएकी छिन् भने कनि आफूमाथि यस्तो गरियो भन्ने पनि आफूलाई ज्ञान नभएको बताएकी छिन् । 

१३ वर्षमा विवाह गरेकी जरिनाले आफू श्रीमान्सँगको सम्बन्ध यसअघि पनि राम्रो नरहेको बताएकी छिन् । उनको विवाह १३ वर्षको उमेरमा भएको थियो । उनका श्रीमान्ले उनका माइती पक्षलाई पनि अस्पतालमा नआउनको लागि धम्की दिएका छन् । 

अफगानिस्तानमा यसअघि सन् २०१६ को जनवरी महिनामा फ¥याब प्रान्तको घोर्माक जिल्लामा रेजा गुल नाम गरेकी  महिलाको घरेलु हिंसाको क्रममा नाक काटिएको थियो । त्यसको केही महिनापछि  एक महिला श्रीमान्को पिटाइको कारण झन्डै मृत्युनजिक पुगेकी थिइन् । 

२०१५ को नोभेम्बर महिनामा घोर प्रान्तमा एक महिलालाई अश्लिल हर्कत गरेको भन्दै ढुङ्गाले हानी मारिएको थियो । सन् २०१५ को सुरुवातमा पनि राजधानी सहरमा एक महिलालाई मरणासन्न हुने गरी पिटेर आगो लगाइएको थियो । सन् २०१४ मा पनि एक महिलाले घरेलु हिंसाको क्रममा आफ्नै श्रीमान्द्वारा आफ्नो नाकको आधा भाग गुमाउनुपरेको थियो ।  

अफगानिस्तानका यी त केही घटनाहरु मात्र हुन् । अझै पनि धेरै अफगानी महिलाहरु घरेलु हिंसा खपेर बस्न बाध्य रहेका छन् । 


Share your thoughts!