ट्रम्पको आप्रवासी प्रतिबन्धको निर्णयमा केवल एक तिहाइ अमेरिकीको साथ

Posted on: February 01, 2017 | views: 348 एजेन्सी

वासिङटन, माघ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकालाई आतंकवादबाट सुरक्षित राख्नको लागि सात मुस्लिम मुलुकहरुका मानिसहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयमा एक तिहाइ अमेरिकी मानिसहरुको मात्र विश्वास रहेको एक सर्वेक्षणले देखाएको छ । 

मंगलबार सार्वजनिक भएको सर्वेक्षणको विवरणले एक तिहाइ मानिसहरुले मात्र यो निर्णयले अमेरिकालाई थप सुरक्षित बनाउने विश्वास जाहेर गरेका थिए । यसले पछिल्लो समय ट्रम्पको नीतिलाई लिएर अमेरिका दुई भागमा विभाजित भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । 

सर्वेक्षणको क्रममा ३१ प्रतिशत अमेरिकीहरुले अहिले ल्याइएको योजनाले आफूलाई थप सुरक्षित बनाएको बताएका थिए भने २६ प्रतिशत मानिसहरुले यो निर्णयले थप कम सुरक्षाको अनुभूति गरेको बताएका थिए । थप ३३ प्रतिशत मानिसहरुले भने कुनै असर नपर्ने बताएका थिए भने बाँकीले यस विषयमा ज्ञान नरहेको बताएका थिए । 

यसअघि ट्रम्पले अमेरिकामा धर्मको आधारमा मुस्लिम मुलुकहरुका नागरिकलाई प्रतिबन्ध नगरिएको तर अमेरिकालाई सुरक्षित राख्नको लागि यो आवश्यक रहेको बताएका भए पनि यसमा निकै कम अमेरिकी नागरिकहरुको मात्र विश्वास रहेको देखिएको हो । 

ट्रम्पले ल्याएको योजनामा ४९ प्रतिशत अमेरिकीहरु सहमत रहेको पाइएको थियो भने ४१ प्रतिशत असन्तुष्ट रहेको पाइएको थियो । डेमोक्रेट पार्टीका ५३ प्रतिशतले यो निर्णयको घोर विरोध गरेका थिए । रिपब्लिकन पार्टीका ५१ प्रतिशतले यो निर्णयमा अत्यन्तै सन्तुष्ट रहेको बताएका थिए । 


Share your thoughts!