इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

Posted on: January 22, 2019 | views: 197 रासस/एएफपी

जकार्ता, माघ ८ । इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् । 

पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विपद निकायले जनाएको छ । अर्को भूकम्प मध्य इन्डोनेसियाको पूर्वी टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको थियो । उक्त भूकम्प ६ दशमलब ७ म्याग्नीच्यूडको थियो । 

दुबै भूकम्प लगत्तै स–साना भूकम्पका धक्का महसुस गरिएको इन्डोनेसियाको जलवायु विज्ञान विभागका प्रियो बुडीले बताए । इन्डोनेसिया गत डिसेम्बरमा जाभा र सुमात्रा द्वीपको बीचमा अवस्थित सुन्डा स्ट्रेटमा भएको ज्वालामुखी विस्फोट र त्यसबाट उत्पन्न सुनामीका कारण ४०० भन्दा बढी सर्वसाधारणको मृत्युका कारण शोकको अवस्थामा रहेको छ । उक्त सुनामीका कारण पूर्वाधार र आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको थियो । 

इन्डोनेसिया भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त कमजोर मानिन्छ । भूकम्पसँगै प्रशान्त महासागरबाट उत्पन्न हुने सुनामीले पनि इन्डोनेसियामा बर्सेनि धनजनको ठूलो क्षति हुने गरेको छ । विगत ६ महिनाभित्रै तीनवटा ठूला सुनामीका घटना भइसकेका छन् । लोम्बोकमा जुलाई र अगस्टमा शक्तिशाली भूकम्पसँगै सुनामीले क्षति गरेको थियो भने सेप्टेम्बरमा पालुमा २२०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । उक्त घटनामा हजारौं व्यक्ति अझै पनि बेपत्ता छन् । 

Share your thoughts!