बुर्कामा पतिबन्ध लगाउने डेनमार्कको तयारी

Posted on: February 11, 2018 | views: 1116 एजेन्सी

कोपनहेगन, माघ २८ । डेनमार्कको सरकारले सार्वजनिक स्थानमा बुर्का लगाउनको लागि प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस किसिमको नियमसँगै डेनमार्कका सार्वजनिक स्थानमा महिलाहरुले बुर्का लगाउन पाउने छैनन् । 

डेनमार्कका अधिकारीहरुले सार्वजनिक स्थानमा आफ्नो अनुहार सबै ढाक्ने कपडाको प्रयोगमा रोक लगाउने विषयमा छलफल चलिरहेको बताएका हुन् । यो नियम लागू भएको खण्डमा त्यस किसिमका कपडाहरुको प्रयोग गर्ने मानिसहरु सजायको भागीदार हुनुपर्ने हुन्छ । 

अहिले गरिएको प्रस्तावअनुसार आफ्नो यो नियम उलंघन गरेमा जो कोहीलाई एक सय २० पाउण्डबराबरको जरिवाना तिर्नुपर्ने हुन्छ । यदि एकपटकभन्दा बढी समय यो गल्ती दोहो¥याएको खण्डमा भने जरिवाना बढ्दै जाने उल्लेख गरिएको छ । 

डेनमार्कका न्यायमन्त्री सोरेन पापेले सार्वजनिक स्थानमा मानिसहरुसँग भेटघाटको क्रममा आफ्नो अनुहार ढाक्नु आफ्नो मुलुकको मूल्य र मान्यताको विरुद्धमा रहेको बताएका छन् । नयाँ नियमले मानिसहरुमा एकअर्कामा भरोसा गर्न सक्ने र फेस टु फेस कुरा गर्नसक्ने किसिमको समाजको निर्माणको लागि सहयोग पु¥याउने उनको भनाइ छ । 

यो प्रस्ताव पारित हुने सम्भावना पनि उल्लेख्य रहेको छ । यद्यपि डेनमार्कमा मुस्लिम आवादी निकै कम रहेको छ र यसमा प्रतिबन्धको असर करिब दुई सय महिलाहरुमा पर्नसक्ने बताइएको छ । यसअघि फ्रान्स, बेल्जियम, नेदरल्याण्डस्, बल्गेरिया र जर्मनीले आफ्नो मुलुकमा बुर्काको प्रयोगमा प्रतिबन्धको निर्णय गरेका थिए । 

Share your thoughts!