माल्दिभ्स मुद्दामा भारत र चीनको लडाइँ

Posted on: February 08, 2018 | views: 1088 एजेन्सी

काठमाडौं, माघ २५ । माल्दिभ्समा जारी रहेको राजनीतिक संकटको विषयलाई लिएर चीन र भारतबीच अस्तित्वको लडाइँ सुरु भएको छ । यस विषयमा चीनले आफ्नो प्रतिक्रिया दिएको छ । चीनले माल्दिभ्सको विषयमा कुनै पनि बाहिरी मुलुकको हस्तक्षेप स्वीकार्य नहुने बताएको छ । 

चीनले यस किसिमको प्रतिक्रिया दिनुपूर्व माल्दिभ्सका विपक्षी नेताहरुले लोकतन्त्रलाई बचाइराख्नका लागि भारतको सहयोग लिनुपर्ने किसिमको बयान दिएका थिए । यस हिसाबमा चीनको प्रतिक्रिया भारतलाई मध्यनजर गर्दै आएको बताइएको छ । 

चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माल्दिभ्सको सम्प्रभुताको ध्यान राख्दै अन्तर्राष्ट्रिय समुदायहरुले यो मामिलामा कुनै पनि रचनात्मक कदम उठाउनु नहुने बताएको छ । यस्तो अवस्था आएमा माल्दिभ्सको संकट थप बिग्रिने सम्भावना रहेको बताइएको छ । 

चीनको तर्फबाट यस किसिमको अभिव्यक्ति आउनुले चीन सरकार माल्दिभ्सको सरकारको पक्षमा रहेको देखिन्छ । यसअघि चीनसँगको स्वतन्त्र व्यापार सम्झौता गर्दा पनि माल्दिभ्सका विपक्षी नेताहरुले विरोध जनाएका थिए । त्यसका साथै चीनले माल्दिभ्समा उल्लेख्य लगानी गरिरहेको छ । यसबाट भारत तनावमा देखिएको छ । विपक्षी नेताहरु भारतनिकट देखिन्छन् । यस्तो अवस्थामा भारत माल्दिभ्समा विपक्षीलाई सत्तामा ल्याउने प्रयासमा रहेको देखिएको छ भने चीन अहिलेकै सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएर लागेको छ । 

माल्दिभ्सका विपक्षी नेता मोहम्मद नशीदले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै भारतले माल्दिभ्सको अहिलेको अवस्थामा हस्तक्षेप गर्दै अब्दुल्ला यामिनले पक्राउ गरेका न्यायाधीश तथा नेताहरुलाई मुक्त गराउनुपर्ने बताएका छन् । चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि मुलुकको लागि आफ्नो आन्तरिक समस्या आफ्नै हिसाबमा समाधान गर्नु जरुरी रहेको उल्लेख गरिएको छ । चीनले माल्दिभ्सका पार्टीहरु आन्तरिक छलफलको माध्यमबाट यो समस्याको समाधान गर्नेमा पनि आशावादी रहेको बताएको छ । 

माल्दिभ्सका विपक्षी पार्टीहरुले भने राष्ट्रपति यामिन चीनको समर्थन पाएर यस्तो कदम कठाइरहेको आरोप पनि लगाएका छन् । उनीहरुले यामिनले चीनलाई राष्ट्रिय महत्वका धेरै योजनाहरु चीनलाई सुम्पिएको उनीहरुको आरोप छ । 

Share your thoughts!