माल्दिब्समा आपतकालीन अवस्थाको घोषणा, पूर्वराष्ट्रपति पक्राउ

Posted on: February 06, 2018 | views: 320 एजेन्सी

माले, माघ २३ । माल्दिब्सका राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार १५ दिनको आपतकालीन अवस्थाको घोषणा गरेका छन् । यो घोषणाको साथमा माल्दिब्सको संकट बढेको छ । माल्दिब्सको सर्वोच्च अदालतले केही समयअघि राष्ट्रपतिलाई राजनीतिक कैदीहरुलाई रिहा गर्नको लागि निर्देशन दिएको थियो तर यामिनले यो कुरालाई अस्वीकार गरेसँगै माल्दिब्समा विवाद सुरु भएको थियो । 

सोमबार सुरक्षाबलले माल्दिब्सको सर्वोच्च अदालतको गेट भत्काउन सुरु गरेका थिए । अमेरिकाले पनि माल्दिब्सको सरकारले कानुनको सम्मान गर्नुपर्ने बताएको छ । माल्दिब्सका पूर्वराष्ट्रपति अब्दुल गयुमसहित प्रधानन्यायाधीश अब्दुल्ला सइद, सर्वोच्च अदालतका न्यायाधीश अली हमिदलगायतका केही अधिकारीहरुलाई पक्राउ गरिएको छ । माल्दिब्सका पूर्व राष्ट्रपति मौमुन अब्दुललाई उनीबाट छुट्टिएका सौतेनी भाइ तथा राष्ट्रपति अब्दुल्ला यामिनले मुलुकमा लगाएको आपतकालपछिको केही समयमा नै गिरफ्तार गरिएको थियो ।

सोमबार साँझ राष्ट्रपतिको निकट रहेका अजिमा शुकुरद्वारा टेलिभिजनमार्फत् सन्देश दिँदै आपतकालीन अवस्थाको घोषणा गरिएको हो । साथै राष्ट्रपतिको आधिकारिक सामाजिक सञ्जालको खाताबाट पनि यसको जानकारी दिइएको थियो । साथै सुरक्षाबललाई कुनै पनि आशंका लागेका व्यक्तिहरुलाई पक्राउ गर्नको लागि निर्देशन दिइएको छ । 

समाचारमा बताइएअनुसार आपतकालको अवधिभर माल्दिब्सका नागरिकहरुका केही अधिकारहरु सीमित हुनेछन् । यद्यपि यसका साथै सामान्य हलचल, सेवा तथा व्यापारमा भने यसको कुनै असर नपर्ने बताइएको छ । पूर्वराष्ट्रपति मैमुन अब्दुललाई उनकै घरबाट गिरफ्तार गरिएको उनकी छोरीले जानकारी दिएकी छिन् । उनी सन् २००८ मा चुनाव हुनुअघि ३० वर्ष माल्दिब्सको राष्ट्रपतिको रुपमा रहेका थिए । विपक्षीको साथमा रहेका उनी आफ्ना सौतेनी भाइलाई पदबाट हटाउने अभियान चलाइरहेका थिए । 

अमेरिकाले यो आपतकालीन अवस्थाको विषयमा प्रक्रिया दिँदै आफूहरु माल्दिब्सका नागरिकहरुको पक्षमा रहेको र माल्दिब्सको सरकारले कानुनको पालना गर्नु आवश्यक रहेको बताएको छ । 

Share your thoughts!