श्रीलंकासँग थप सम्बन्ध बढाउँदै चीन, भारतलाई घेर्ने योजनामा सहयोग पुग्ने अपेक्षा

Posted on: February 05, 2018 | views: 447 एजेन्सी

बेइजिङ, माघ २२ । चिनियाँ राष्ट्रपति सि चिनफिङले श्रीलंकाको साथमा थप सम्बन्ध विस्तारमा चीनको ध्यान केन्द्रित रहेको बताएका छन् । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७० औं वर्षको अवसरमा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई एक बधाई सन्देश पठाउँदै चिनफिङले यस्तो बताएका हुन् । 

चीनले हिन्द महासागरमा समुद्री मार्गको योजनालाई तीव्र गतिमा अघि बढाउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा भारतले भने चीनको यो सिल्क रोडमा आफ्नो आपत्ति जाहेर गरेको छ । सुरक्षाको कारण देखाउँदै भारतले चीनको यो योजनामा आफ्नो आपत्ति जाहेर गरेको हो । 

चिनियाँ राष्ट्रपतिले पठाएको सन्देशमा श्रीलंकासँग मिलेर थप विकास निर्माणको कामका लागि चीन इच्छुक रहेको उल्लेख गरिएको छ । 

चीनले पछिल्लो केही वर्षमा श्रीलंकाको हंबनटोटा बन्दरगाहको समग्र योजनामा आठ अर्ब अमेरिकी डलरबराबरको रकम लगानी गरेको छ । साथै चीनले कोलम्बो पोर्ट सिटी प्रोजेक्टको काम पनि अघि बढाइरहेको छ ।

चीन पछिल्लो समय भारतलाई चारैतिरबाट घेर्ने दिशामा अघि बढिरहेको छ, जसको कारण चीनको ध्यान दक्षिण एसियाका मुलुकहरुमा रहेको छ । जसमा भुटानबाहेक सबै मुलुकहरुलाई भारतबाट टाढा लैजानको लागि चीन केही मात्रामा सफल भएको देखिएको छ । 

Share your thoughts!