कतार एयरवेजले ल्यायो एयरबसको अत्याधुनिक विमान

Posted on: January 30, 2018 | views: 477

काठमाडौं, माघ १६ । आइतबार कतारको राजधानी सहर दोहामा कतार एयरवेजको नयाँ विमान एयरबस ए३५०–१००० को भव्य स्वागत गरिएको छ । आइतबार यो विमानलाई दोहा विमानस्थलमा स्वागत गरिएको हो । 

भर्खरै एयरबस कम्पनीको सबैभन्दा नयाँ यो विमानको कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल बकरले स्वागत गरे । यो विमानले मध्यपूर्व र एसिया प्रशान्त क्षेत्रका विभिन्न १२ स्थानहरुमा उडान भर्ने कतार एयरवेजले जानकारी दिएको छ । 

यो विमान आउनुभन्दा एक महिनाअघि नै कतार एयरवेजले आफ्ना ग्राहकहरुलाई यो विमानबाट सेवाको घोषणा दिएको थियो । कतार एयरवेजले ३७ ओटा अत्याधुनिक हवाई विमानको लागि अर्डर दिएको छ । 

आउँदो महिना एयरलाइन्स सेवा प्रदायकले एयरबसबाट आफ्नो विमानको डेलिभरी लिनेछ । कतार एयरवेजले एयरबसले निर्माण गरेका विमानहरुले आफ्नो मापदण्डअनुसारको सुविधा प्रदान गर्न सक्ने भएको कारण यो विमानको लागि कम्पनीले अर्डर दिएको बताएको छ । 

हवाई विमानलाई स्वागत गर्ने क्रममा कतारएयरवेजका अधिकारीहरुले यो विमानले कम्पनीको सेवा थप सुरक्षित, भरपर्दो र आरामदायी हुने विश्वास व्यक्त गरे । 

अहिले कतार एयरवेजले युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्यासिफिक, उत्तर अमेरिका र दक्षिण अमेरिकामा गरी एक सय ५० भन्दा बढी स्थानहरुमा आफ्नो उडान भर्दै आएको छ । 

Share your thoughts!