दक्षिण कोरियामा किम जोनको तस्बीर जलाइएकोमा उत्तर कोरियाको आपत्ति

Posted on: January 24, 2018 | views: 400 एजेन्सी

सोल, माघ १० । शीतकालीन ओलम्पिक आगामी महिनामा दक्षिण कोरियामा आयोजना हुने तयारी भइरहेको छ । यो प्रतियोगितामा उत्तर कोरियाको सहभागिताको विषयलाई लिएर दक्षिण कोरियामा ठुलो प्रदर्शन भएको छ । 

प्रदर्शनको क्रममा उत्तर कोरियाको राष्ट्रिय झण्डा र सर्वोच्च नेता किम जोन उनको तस्बीर जलाइएको छ । यो विषयमा उत्तर कोरियाले आपत्ति प्रकट गरेको छ । उत्तर कोरियाको सञ्चारमाध्यमले दक्षिण कोरियामा जारी यस किसिमको कार्यलाई रुढीवादी सोचको उपज रहेको बताएको छ । ठुलो प्रयासपछि सुधार भइरहेको सम्बन्ध बिगार्नको लागि यस किसिमको प्रदर्शन भइरहेको उत्तर कोरियाले आपत्ति प्रकट गरेको हो । 

उत्तर कोरियाले एक लेखमा आफ्ना नेताको तस्बीर जलाउने कामलाई अनैतिक कार्य रहेको बताएको छ । साथै उत्तर कोरियाले आफूमाथि लगाइएको परमाणु कार्यक्रम पूरा गर्ने समय पाउने खेलमा लागेको भन्ने आरोपको पनि खण्डन गरेको छ । 

साथै उत्तर कोरियामाथि लागेको दक्षिण कोरिया–अमेरिका सम्बन्ध बिगार्ने तथा संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धबाट पार पाउनका लागि खेलमा भाग लिन लागेको भन्ने आरोपको पनि खण्डन गरिएको छ । मंगलबार दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले उत्तरले यो प्रतियोगितामा भभाग लिन लागेको निर्णयलाई समर्थन गर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको थियो । एक विज्ञप्ति जारी गर्दै यस किसिमको आग्रह गरिएको थियो । 

उक्त विज्ञप्तिमा यसले आगामी दिनमा कोरियन प्रायद्वीपमा शान्ति स्थापनाको लागि सहयोग पुग्ने उल्लेख गरिएको थियो । साथै उत्तर कोरियाको प्रतिनिधिमण्डलको स्वागत दक्षिण कोरियामा भव्यरुपमा गरिने पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share your thoughts!