आईएसमा सामेल भएकी एक महिलालाई फाँसीको सजाय

Posted on: January 22, 2018 | views: 415 एजेन्सी

बगदाद, माघ ८ । इराकको एक अदालतले जर्मनीकी एक महिलालाई आतंकवादी संगठन आईएसमा  संलग्न रहेकोभन्दै फाँसीको सजाय सुनाएको छ । उनले आईएसलाई सैन्य सहायता तथा अन्य सहयोग गरेको आरोपमा यो सजाय सुनाइएको हो । 

सर्वोच्च न्यायिक परिषद्का प्रवक्ताले महिलाले आईएसमा भर्ती भएको कुरा पनि स्वीकार गरेको बताएका छन् । उनले जर्मनीबाट सिरिया आएर आईएसमा भर्ती भएकी थिइन् र उनी आफ्ना दुई छोरीहरुको साथमा इराक अएकी थिइन् । उनका दुई छोरीहरुको विवाह पनि आतंकवादीसँग नै भएको थियो । 

सिरिया जानुभन्दा अगाडि उनी जर्मनीको म्यानह्याममा बस्ने गर्थिन् तर उनी मोरक्कोमा जन्मिएको बताइएको छ । सन् २०१७ मा मोसुलमा कारबाहीको क्रममा पक्राउ परेका धेरै महिलामध्ये उनी पनि एक हुन् । उनलाई फाँसीको फैसला सुनाइएको भए पनि उनलाई एकपटक अपिल गर्ने मौका भने बाँकी रहेको छ । 

एक समुहले सार्वजनिक गरेको विवरणमा सन् २०११ यता करिब २७ हजार विदेशी इराक र सिरिया पुगेका छन् । जसमा छ हजार युरोपियनहरु रहेका छन् तर सबै आईएसमा सामेल भने भएका छैनन् । 

यसअघि एक रुसी महिलालाई पनि आईएसमा सामेल भएको आरोपमा फाँसीको सजाय सुनाइएको थियो । अघिल्ले महिना इराकले आईएस परास्त गरेको घोषणा गरेको थियो । सन् २०१४ मा आईएसले इराकको करिब एक तिहाइ भूभागमा आफ्नो कब्जा जमाएको थियो । 

Share your thoughts!