पाँच वर्षमा दोस्रोपटक अमेरिकी सरकारको कामकाज बन्द

Posted on: January 21, 2018 | views: 349 एजेन्सी

वासिङटन, माघ ७ । अमेरिकाको माथिल्लो संसदले आर्थिक व्यय विधयेक खारेज गरिदिएसँगै पछिल्लो पाँच वर्षमा दोस्रोपटक अमेरिकी संघीय सरकारको कामकाज बन्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण भएको एक वर्ष पूरा भएसँगै यस किसिमको संकटको अवस्था आएको हो । 

अमेरिकाको संघीय बजेटको काम गर्ने विधयेक पारित हुन नसकेसँगै अमेरिकामा यो समस्या आएको हो । यससँगै अमेरिकीमा ऐन्टी–डिफेसिएन्सी एक्ट लागू हुन्छ । यो नियमअनुसार संघीय एजेन्सीहरुले आफ्नो कामहरु रोक्नुपर्छ । यसको अर्थ कर्मचारीहरु बिदामा बस्नुपर्ने हुन्छ । यो अवधिमा उनीहरुले तलब पनि पाउँदैनन् । यस्तोमा सरकारले ल्याएको संघीय बजेट अमेरिकाको दुवै संसदबाट पारित गराउनुपर्ने हुन्छ । अहिलेको अवस्थामा अमेरिकामा करिब आठ लाखभन्दा बढी कर्मचारीहरु बिदामा रहनसक्ने अनुमान गरिएको छ । केवल आपतकालीन सेवाहरु मात्र खुला रहनेछन् । 

यसअघि सन् २०१३ को अक्टोबर महिनामा पनि अमेरिकाले यस किसिमको समस्याको सामना गर्नुपरेको थियो । त्यतिबेला अमेरिकामा डेमोक्रेट्सको सरकार थियो र बाराम ओबामा राष्ट्रपति थिए । त्यतिबेला १६ दिनसम्म अमेरिकाको संघीय सरकारहरु ठप्प भएका थिए । त्यतिबेला करिब आठ लाख कर्मचारीहरु बिदामा बसेका थिए । त्यसैगरी अमेरिकाले १९८१, १९८४, १९९५÷९६ मा पनि यस किसिमको समस्या देखिएको थियो । 

यद्यपि अहिले देखिएको समस्या सन् २०१३ को तुलनामा भने कम असर दिने किसिमको रहेको बताइएको छ । यो समस्या देखिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिदा लिने योजना पनि त्यसै तुहिएको छ । अमेरिकाको इतिहासमा दुवै संसदमा एकै पार्टीको बहुमत रहेको र राष्ट्रपनि पनि सोही पार्टीको रहेको समयमा पहिलोपटक यस किसिमको समस्या देखिएको हो । 

Share your thoughts!