पुनहिल : हिमाली दृश्यका साथै सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ

Posted on: November 29, 2018 | views: 37 रासस

पोखरा, मङ्सिर १३ । गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ । 

हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी पर्यटक पुग्ने गरेको यो ठाउँले पछिल्लो समयमा स्वदेशी पर्यटकलाई पनि उत्तिकै आकर्षित गरेको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलको पदयात्राका क्रममा भेटिएका जर्मन नागरिक हर्वट बेडेनबेन्डरले यहाँबाट देखिने दृश्य अवर्णनीय भएको टिप्पणी गरे । 

“लामो पदयात्रा मार्गमा हिँड्दा थकाइ लाग्नु स्वभाविकै हो,” उनले भने, “यहाँका यी रमणीय दृश्यले थकाइ बिर्साएको छ ।” अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतको यस स्थान पर्यटकीय नगरी पोखरादेखि नजीक हुनुका साथै एकै स्थानबाट बहुदृश्य हेर्नका लागि पर्यटक पुग्ने गरेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवम् कार्यक्रम प्रमुख प्रदीप गैरेले बताए । उनका अनुसार विदेशी पर्यटक मात्र नभई देशका विभिन्न स्थानहरूबाट भ्रमणका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समयमा उत्साहजनक रूपमा बढेको पाइन्छ । पदयात्राको मुख्य याममा दैनिक पाँच सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेको स्थानीयवासी वीरेन्द्र गर्बुजा बताउछन् । 

देशको राजनीति तथा शान्तिसुरक्षाको अवस्था राम्रो बन्दै गएकोले विदेशी पर्ययक आगमन उत्साहजनक भएको बताउँदै गर्बुजाले दशैँ–तिहारको बिदाको समयमा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिएको उल्लेख गरे । पुनहिलको प्रवेशद्वार घोडेपानीमा २५ वटा होटल छन् । यी होटलमा दैनिक एक हजार पाहुना बास बस्न सक्ने व्यवस्था छ । गाउँपालिकाले यस आर्थिक वर्षदेखि पुनहिल भ्रमण गर्न जाने स्वदेशी पर्यटकबाट प्रतिव्यक्ति रु ५० र विदेशीबाट रु १५० प्रवेश शूल्क लिन शुरु गरेको छ । सङ्कलित रकममध्ये ७० प्रतिशत वडाले छनोट गरेका योजना र ३० प्रतिशत गाउँपालिकाले परिचालन गर्ने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । 

पर्यटकमध्ये कतिपय कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरी वा घान्द्रुक हुँदै जान्छन् भने कतिपय म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा हुँदै जान्छन् । घोडेपानीमा बास बसी सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्दै रमाउन बिहान ५ बजेको झिसमिसेमा आँखा मिच्दै झण्डै एक घण्टा पैदल हिँडेर पर्यटक पुनहिल पुग्ने गर्दछन् । असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम भए पनि झण्डै बाह्रै महीनाजस्तो पर्यटक यहाँ आउने गरेको टाढापानीस्थित होटल पानोरमा प्वाइन्ट एण्ड रेस्टुरेन्टका सञ्चालक मनबहादुर क्षेत्रीले बताउनुभयो । पुस–माघमा हिउँ खेल्न पाइनु र चैत–वैशाखमा पाखाभरि ढकमक्क फुल्ने गुराँस हेरेर रमाउन पाउनु यस क्षेत्रको विशिष्टता भएको उनको भनाइ छ । 

पुनहिलमा खिवाङ गाउँका स्व मे.टेकबहादुर पुनको स्मृतिमा ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिएको छ भने घोडेपानीका होटल व्यवसायीको पहलमा पदमार्ग, प्रवेशद्वार, सार्वजनिक शौचालय निर्माण भएको छ । पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गरी पुनहिलमा गाउँपालिकाले ‘फ्री वाइफाई’ जडानको तयारी गरेको छ । गाउँपालिकाका घान्द्रुक, उल्लेरी हुँदै ठूलो सङ्ख्यामा पर्यटक जाने गरेको वास्तविकतालाई दृष्टिगत गरी यस पदयात्रा मार्गको संरक्षण एवम् प्रवद्र्धनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको पालिका प्रमुख युवराज कुँवरले बताए । पदमार्ग क्षेत्रअन्तर्गत गाउँपालिका क्षेत्र भित्रका होटलमा परिकार महँगो भएको भन्ने जिज्ञासामा प्रमुख कुँवरले त्यसको अनुगमन गरी उचित मूल्य राख्न पहल गरिने बताए । 

मनोमानी तथा अत्यधिक मूल्यका परिकारले पर्यटकमा नकारात्मक असर पार्ने बताउँदै नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले यसको नियन्त्रणमा स्थानीय तहले सक्रियता देखाउनुपर्ने धारणा राखे । “पर्यटकलाई उचित सेवासुविधा दिएर त्यसअनुरूप सेवा शुल्क लिनु स्वाभाविकै हो, तर नसुहाउने किसिमले चर्को मूल्य सूची राखिनुहुँदैन,” उनले भने ।

Share your thoughts!