पुल निर्माण नसकिँदा पर्यटकलाई सास्ती

Posted on: October 04, 2018 | views: 154 रासस

बुटवल, असोज १८ । भैरहवा–लुम्विनी सडकखण्डका पक्की पुल चौडा गर्ने काम समयमै नसकिँदा बुद्ध जन्मस्थल आउने पर्यटकलाई सास्ती भएको छ । गौतमबुद्ध विमानस्थलदेखि लुम्विनीसम्मको २२ किलोमिटर सडक खण्डका पुल साँघुरा हुँदा ट्राफिक जाम हुने गरेकाले पर्यटकले सास्ती खेप्नुपरेको हो ।

उक्त सडकमा आवागमन सहज बनाउन डिभिजन सडक कार्यालयले पाँच पक्की पुललाई चौडा गर्न विसं २०७१ असारमा पप्पु बामती जेभी कन्स्ट्रक्सन कम्पनीलाई विसं २०७३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएकामा समयमै काम नसकेपछि ०७५ असारसम्मका लागि समय थपिएको थियो । थपिएको समयमा पनि काम हुन नसकेपछि पुनः एक वर्षको समय दिइएको उक्त कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख कैलाशकुमार श्रेष्ठका अनुसार नयाँ पुल बनाउँदा पुरानो पुल भत्किन सक्ने भएकाले नदी डाइभर्सन गरेर भए पनि निर्माण सक्न परिपत्र गरिएको थियो । अन्य जिल्लामा पनि सम्झौताअनुसार काम गर्न नसकेर विवादित बनेको उक्त कम्पनीले तोकिएको अवधिमा पनि काम सम्पन्न नगरे कानूनअनुसार कारवाही गरिने उहाँले बताए ।

भैरहवा–लुम्बिनी सडकका पाँच पुलमध्ये कोइलीहवा, घाघरा र तेलार नदीको पुल निर्माणको काम सकिए पनि तिनाउ र दानव नदीमा प्राविधिक कठिनाइ देखिएका कारण पनि समयमा पूरा हुननसकेको उक्त कार्यालयका इञ्जिनीयर अमित बर्माले बताए । उनले भने, ‘वर्षाको समय भएकाले पनि काममा ढिलाइ भयो, अब छिट्टै शुरु हुन्छ ।”समयमै पुल निर्माण नसकिँदा लुम्विनीको पर्यटनमा नराम्रो असर गरेको पर्यटन व्यवसायी लिलामणि शर्माको गुनासो थियो । ‘यसबारे स्थानीय र प्रदेश सरकारलाई पटक–पटक गुनासो गर्यौ तर कसैले सुनेन, उनले भने ।

उक्त सडक खण्डअन्तर्गत पर्ने तिनाउ, घाघरा, दानव, कोइलीहवा र तेलार नदीमा रहेका पाँच पुलहरू निकै साँघुरा छन् । जम्मा चार मिटर मात्रै चौडाइ रहेका यी पुलमा एक पटकमा एउटा मात्रै गाडी वारपार गर्न सक्छ । चौडा गर्न थालिएका पुलमध्ये तिनाउ र दानव नदीको लम्बाइ ९०-९० मिटर छ । कोइलीहवा नदी र तेलार नदीको ३०-३० मिटर तथा घाघरा खोलामा ४५ मिटर लम्बाइको पुल निर्माण यसअघि नै सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि पर्यटकको चाप बढ्ने अपेक्षा गर्दै सरकारले लुम्विनी क्षेत्रमा सडक, खानेपानी, विद्युत्, ठूला होटल तथा पर्यटन उद्योेगको विकासमा प्राथमिकता दिन थालेको छ । विमानस्थलदेखि लुम्विनीसम्म पुग्ने सडक चौडा गर्ने काम यसै वर्षदेखि शुरु भएको छ ।

Share your thoughts!