नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो

Posted on: July 28, 2019 | views: 273 रासस

काठमाडौँ, साउन १२ । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । 

सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो ।यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्न असफल भएको छ । यता विजयी हासिल गरेको सिङ्गापुर समूह विजेता बन्दै ग्लोबल छनौटमा पुगेको छ । सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो ।

नेपालले २७ रन जोड्दा पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमायो । त्यस्तै नेपालका दीपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा सिङ्गापुरका सिलाडोरे विजयकुमार एक्लैले ४ विकेट लिए भने भिनोद भास्करणले २ झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै मनप्रीत सिंहले ४२ रन जोडे । 

नेपालका अविनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे । 

Share your thoughts!