देवनारायणका बाबुछोरा भारतीय प्रहरीको नियन्त्रणमा

Posted on: October 02, 2017 | views: 557 सुशासन संवाददाता

काठमाडौं, असोज १६ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजय  यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । 

सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई पनि पनि प्रहरीले नियन्त्रणमा लिएको  हो  । 

देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा भारतीय प्रहरीमा मुद्दा परेकाले सोही काण्डमा अजयलाई पक्राउ गरेको प्रहरी स्रोतको भनाइ छ । 

अजय शनिवार राति दशगजा क्षेत्रमा रहेको आर्दश ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका स्थानीयको भनाइ छ ।  देवनारायणका  बाबुछोरालाई भारतका विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेल चलान गरेको बताइए पनि आधिकारिक पुष्टी भने भएको छैन । 

‘देवनारायण छोरालाई छुटाउन जाँदा भारतीय प्रहरीबाट पक्राउ परेका हुन्’, सप्तरीका एसपी मुकेश सिंहले भने, ‘किन पक्राउ गरिएको भन्ने हामीलाई जानकारी आएको छैन ।’ एसपी सिंहले आफूहरुले बुझ्ने प्रयास गरिरहेको बताए । 

यादव गत बर्ष सप्तरीको तिलाठी सीमास्थित दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा गत वर्ष भारतीयसँग झडप हुँदा देवनारायण घाइते भएका थिए । खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा तिलाठीबासी भारतीय पक्षको विरोधमा उत्रिएका थिए । 

भारतीय पक्षको विरोधमा उत्रिएकाबेला भारतीय पक्षको कुटाइबाट देवनारायण घाइते भएका थिए । देवनारायणलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । 

Share your thoughts!