वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

Posted on: September 26, 2017 | views: 372 रासस

इनरुवा, असोज १० । सुनसरीे काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज यहाँ सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेका थिए । 

पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद अटल, शम्भुकुमार साह र महेन्द्र यादव छन् । त्यस्तै भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, महेन्द्र यादव, सङ्खुवासभाका विनोद ओझा र भारत पटनाका रामअयोध्या शर्मा छन । 

पक्राउ परेका स्थानबाट प्रहरीले जुवा खालसहित चार लाख २२ हजार १३५ नेपाली रुपैयाँ र ९२ हजार ३८० भारतीय रुपैयाँ बरामद गरेको थियो । 

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको उनले बताए । 

कटुवा पेस्तोलसहित दुई पक्राउ 

यसैगरी सुनसरीको दुहवी नगरपालिकाबाट कटुवा पेस्तोलसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दुहवी नगरपालिका–८ का मुरतुजा मियाँ र इनरुवा नगरपालिका–७ चान्दवेलाका कुर्वान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी अधिकृतको टोलीले दुबै जनालाई पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । 

उनीहरुको साथबाट कटुवा पेस्तोल एक र सोमा लाग्ने गोली एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक चिमरियाले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । 

Share your thoughts!