अर्याल–चन्द सम्बन्ध चिसियो, निमित्त आईजीपीको जिम्मेवारी जोशीलाई दिँदै अर्याल चीन प्रस्थान

Posted on: September 23, 2017 | views: 4753 सुशासन संवाददाता

काठमाडौं, असोज ७ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल इन्टरपोलको ८६औं सम्मेलनमा भाग लिन शनिबार चीन गएका छन् । आईजीपी भएपछि अर्यालको यो पहिलो विदेश भ्रमण हो । 

आफ्नो अनुपस्थितिमा अर्यालले एआईजी माधव जोशीलाई निमित्त आईजीपीको जिम्मेवारी दिएका छन् । आफूपछाडिका वरिष्ठ एआईजीलाई निमित्तको जिम्मेवारी दिनुपर्ने भए पनि अर्यालले कनिष्ठ एआईजीलाई जिम्मेवारी दिएर चीन गएका हुन् । 

एआईजीमा हाल बमबहादुर भण्डारी एक नम्बरमा रहेका छन् । उनी र इन्टरपोल शाखाकी एसपी किरण बज्राचार्य पनि अर्यालसँगैको भ्रमण टोलीमा भएकाले दोस्रो नम्बरमा रहेका एआईजी जयबहादुर चन्दलाई वरिष्ठताको आधारमा निमित्त आईजीपीको दिनुपर्ने हो । 

तर, पछिल्लो समय अर्याल र चन्दबीचको सम्बन्ध चिसिएसँगै प्रहरी मुख्यालयका एआईजी जोशीलाई जिम्मेवारी दिइएको हो । 

सरकारले पछिल्लो समय आईजीपी अर्याललाई हटाएर त्यो जिम्मेवारी एआईजी जयबहादुर चन्दलाई दिने समाचारहरु सार्वजनिक भएसँगै अर्याल थप सशंकित भएका कारण चन्दलाई निमित्त आईजीपीको जिम्मेवारी नदिइएको स्रोतको दाबी छ । 

यद्यपि, पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन समयमा इन्डोनेसियाको भ्रमणमा जाने क्रममा निमित्त आईजीपीको जिम्मा वरिष्ठ एआईजी राजेन्द्रसिंह भण्डारीलाई नदिई सुरेन्द्रबहादुर शाहलाई दिएका थिए ।

Share your thoughts!