प्रहरी कर्मचारीहरु अझै सक्रिय हुन आईजीपी सिंहको निर्देशन

Posted on: June 17, 2022 | views: 230 सुशासन संवाददाता

काठमाडौं, असार ३ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले आधुनिक प्रविधि, नविन सिप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताएका छन् ।  

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, प्रशासन विभाग र भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा उक्त विभाग मातहत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक सिंहले आफूले प्राप्त गरेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले निष्पक्ष, पारदर्शी र इमानदार एवम् कार्यालयप्रति पूर्ण जवाफदेही भई आफै सन्तुष्ट हुने गरी काम गर्नुपर्ने बताए । साथै उनले संवेदनशील विभागीय कामप्रति स्पष्ट नियत राखी गोपनियता कायम गर्दै असल अभ्यासका साथ विधि तथा कानून बमोजिम काम गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सचेत गराए ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सदुपयोग गरी काम गर्न निर्देशन दिए । भवन निर्माणमा मितव्ययिता एवम् पारदर्शिता कायम राख्दै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बिसी र मानवश्रोत विकास विभागका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले आ-आफ्नो विभागको गतिविधि एवम् भए गरेका काम कारवाहीबारे प्रस्तुतीकरण गरेका थिए । 


Share your thoughts!