सशस्त्र महानिरीक्षक केसीद्वारा ७ कामु एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

Posted on: April 21, 2022 | views: 2339 सुशासन संवाददाता

काठमाडौ, बैशाख ८ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा कायम मुकायम मुकर्रर भएका ७ जनालाई उल्लेखित पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले पदोन्नती भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई हार्दिक बधाई दिनुकासाथै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्तभएको उल्लेख गर्दै दर्जासँगै प्राप्तभएको जिम्मेवारी निर्वाहमा अझ बढि क्रियाशिल रहँदै कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

उनले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत फौजी अनुशासनमा राख्दै उच्च मनोबल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायत राज्यप्रदत्त विविध जिम्मेवारीका कृयाशिल भई नतिजामूलक कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

नेपाल सरकार माननीय गृहमन्त्री स्तरको बैशाख मंगलबारको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई. प्रमोद कुमार साह त्यसैगरी सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमुहतर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समुह, कानून उपसमुहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर भएका थिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Share your thoughts!