काठमाडौं, फागुन ५ । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टका हत्या अभियुक्त दिनेश भट्टलाई पक्राउ गरेको भन्दै स्थानीयले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई फूलमालासहित सम्मान गरेका छन् ।
घटनामा संलग्न दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर सम्मान गर्दै बुधबार बिदाई गरेका हुन् ।
भागरथी हत्याको अनुसन्धानमा डीआईजी सुवेदीसहित एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत खटिएका थिए ।
भागरथीको हत्याको १४ औं दिनपछी घटनामा संलग्न भागरथीनै अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट पक्राउ परेका छन् ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी भोलिपल्ट स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।