परिस्थितिअनुसारको योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन

Posted on: January 07, 2021 | views: 404 सुशासन संवाददाता

काठमाडौं, पुस २३ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहमा आवश्यक निर्देशन सम्बोधन गरेका छन् ।

उक्त अवसरमा आईजीपी थापाले हालको परिस्थितिलाई मनन र विश्लेषण गरी सोही अनुरुपको कार्य योजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । हालको सुरक्षा चुनौति व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए ।

आईजीपी थापाले हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता लगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने बताए । सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईको उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने उनले उल्लेख गरे । कार्यालय व्यवस्थापन, साधनस्रोतको उचित परिचालन र मर्मत सम्भार लगायतका दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्त दुरुस्त रुपमा प्रस्तुत हुन समेत उनले निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना प्रहरी उपरीक्षकहरु र ६९ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।


Share your thoughts!