गुल्मी जुवाकाण्ड: प्रहरी जवानमाथी छानबिन गर्न इन्स्पेक्टर रावलको नेतृत्वमा समिति गठन

Posted on: November 01, 2020 | views: 1577 सुशासन संवाददाता

गुल्मी, कार्तिक १६ । गत सोमबार गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित एक होटेलमा संचालित जुवाखालमा प्रहरीले छापा मार्दा जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान  जुवाखालमा भेटिदा पनि कारबाहीबाट उन्मुक्ति पाएको बिषयमा छानबिन समिति गठन भएको छ।

हिजो (शनिबार) सुशासन न्युजमा जिल्ला प्रहरी कार्यालय गुल्मीका घुमुवा प्रहरी जवान बासु मरासिनीले जुवाखालमा बसेर पैसा उठाएको बिषयमा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले शनिबार नै उक्त बिषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न र दोषी देखिए कारबाही गर्न गुल्मी प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठलाई निर्देशन दिएको  थियो।

यो पनि पढ्नुहोस्...

जुवाखालमा पैसा उठाउदै गरेको अवस्थामा भेटिएका प्रहरी जवानलाई उन्मुक्ति !

प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी श्रेष्ठले प्रहरी निरिक्षक (इन्स्पेक्टर) राजकुमार रावलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेका छन्। समितिमा एक प्रहरी नायब निरीक्षक (सई) र एकजना प्रहरी हवल्दार सदस्य छन्।

गुनासो आएपछि इन्स्पेक्टर साबको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेका छौँ, छानबिनको बिषयमा अहिले धेरै नबोलौ' गुल्मी प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठले सुशासन न्युजसंग भने।

उच्च स्रोतका अनुसार प्रारम्भिक छानबिनमा जुवाखालमा बसेर पैसा उठाइरहेका प्रहरी जवान मरासिनीले पक्राउ परेमध्येका वडाध्यक्ष मोहनप्रसाद पाण्डेको लागि जुवाखाल चलिरहेको होटेल एभरग्रीन नजिकैको भिलेज नामक रेस्टुरेन्टबाट पचास हजार रुपैयाँ लगिदिएको र पक्राउ परेका अर्का राजु पाण्डेको पालोमा १० हजारको काटपत्ती खेलको तास समेत काटिदिएको खुल्न आएको छ।

प्रहरीले छापा मार्दा जुवाखालमै रहेका जवान मरासिनी प्रहरी देखेपछि सुटुक्क भागेका थिए। एक प्रत्यक्षदर्शीका अनुसार हतारमा भाग्दा आफ्नो मोबाईल समेत छोडेका उनी पछि प्रहरीले मुचुल्का गर्दा सुटुक्क गएर मोबाईल लिएर आएका थिए। ती प्रत्यक्षदर्शीका अनुसार जुवाखालमा पैसा उठाउनको लागि जवान मरासिनीले आफुसङ्गै अर्का प्रहरी जवानसमेत लिएर गएको खुल्न आएको छ।  


Share your thoughts!