बढी भाडा लिने विरुद्ध थप कडा कारवाही गर्दै ट्राफिक प्रहरी

Posted on: October 15, 2020 | views: 212 सुशासन संवाददाता

काठमाडौँ, असोज २९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।

ट्राफिक महाशाखाले क्षमता भन्दा बढि यात्रु राख्ने, बढि भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सिहरुको अनुगमन र कारवाहीमा तीव्रता दिएको छ । यात्रुको चाप बढि हुने रुटमा बिशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेक जाँचमा कडाई गर्दै बढि भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारवाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद ढकालले चाडपर्व लक्षित बिशेष योजनालाई मध्यनजर गरी सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए । उनले यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका बसपार्क एंव मूख्य भिडभाड हुने चोकहरुमा चेकजाँच गरि स्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढि भाडा लिने गरे नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए ।

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५,४५१ वटा सवारी साधनलाई सम्झाई बुझाई गरि सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।

महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमता भन्दा बढि यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रु वर्गमा अनुरोध समेत गरेको छ ।

Share your thoughts!