घुससहित नियन्त्रणमा लिइएका चार प्रहरी निलम्बित

Posted on: July 30, 2020 | views: 276 सुशासन संवाददाता

काठमाडौँ, साउन १५ । बागमती प्रहरी प्रदेश कार्यालयले घुस खाने चार जना प्रहरीलाई बुधबार निलम्बन गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको थियो ।

प्रदेश कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीका अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरीएको बताए ।

ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकास जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्षमण कुमार महत्तोलाई निलम्बन गरीएको प्रवक्ता गिरीले बताए ।

प्रवक्ता गिरीका अनुसार निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको बताए ।

आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरीएको पनि प्रवक्ता गिरीले जानकारी दिए ।

Share your thoughts!