१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

Posted on: July 24, 2020 | views: 127 सुशासन संवाददाता

काठमाडौं, साउन ९ । महानगरीय अपराध महाशाखाले १९ लाख ९१ हजार रुपैयाँसहित अबैध रुपमा हुण्डीको कारोवार गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भई हाल काठमाडौं २९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपाने छन् । न्यौपाने हाम्रो गण्डकी इन्टरप्राइजेज न्युरोडका कपडा व्यापारी हुन् ।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार काठमाडौँ विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा स्रोत नखुलेको उक्त रकमसहित महाशाखाको विशेषज्ञ टोलिले उनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका न्यौपानेले भाइबरमार्फत हुण्डी कारोबार गर्ने गरेको विवरण फेला परेको एसएसपी थापाले बताए । न्यौपानेलाई प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइने महाशाखाले जनाएको छ ।


Share your thoughts!