बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

Posted on: July 10, 2020 | views: 177 सुशासन संवाददाता

काठमाडौं, असार २६ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ ताम्सिपाखा बस्ने ४८ वर्षीय सुनिता चित्रकार र  काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् । 

प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी विभिन्न मितिमा बिभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी २०७६ फागुन २६ गते उच्च अदालत पाटनबाट सुनितालाई ३ दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना तथा मनोजलाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला भएको थियो । 

उक्त सजाय वेरुजु रही फरार रहेका प्रतिवादीहरुमध्ये सुनितालाई बिहीबार लुकिछिपि बसिरहेको अवस्थामा स्वयम्भूबाट र मनोजलाललाई शुक्रवार रविभवन काठमाडौंमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको  हो । 

पक्राउ उनीहरुलाई फैसला कार्यान्वयनको लागि शुक्रवारै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । 


Share your thoughts!