नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

Posted on: July 07, 2020 | views: 233 सुशासन संवाददाता

काठमाडौं, असार २३ । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा (क्षेत्री) लाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा नियुक्ति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ बसेको मन्त्रीपरिषदको बैठकले असार २५ गतेदेखि लागू हुनेगरी थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी दिने निर्णय गरेको हो।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले भोलि (असार २४) मा तीसबर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएपछी सरकारले एआईजी बरियताको पहिलो नम्बरमा रहेका थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो । हालका आईजीपी ज्ञवालीसंगै एआईजी तारिणीप्रसाद लम्साल र डीआईजी सुर्यप्रसाद उपाध्यायले समेत तीसबर्षे सेवाहदका कारण अवकाश पाउदैछन् ।

प्रहरी नियमावली २०७१ को परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको आईजीपीमा बढुवा नियुक्ति गरिएको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् । हाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन बिभागको प्रमुख रहेका थापा डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सफल कमान्ड गरेका अधिकृत हुन् । प्रहरी निरीक्षकदेखि पहिलो नम्बरमा रहेका उनी एसएसपी र डीआईजी हुँदा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा समेत काम गरिसकेका छन् ।

डीएसपी हुँदा धादिङ र एसपी हुँदा कास्की र झापाको सफल कमाण्ड गरेका थापा नेपाल प्रहरीमा इमानदार अधिकृतको रुपमा परिचित छन् ।

२०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थापा प्रहरीको रोलमोडेल मानिन्छन् । वृत्तिबिकास तथा पदस्थापनको लागि कुनै शक्तिकेन्द्र नगुहार्ने स्वभावका उनी सदैव प्रहरी संगठनप्रती बफादार बन्दै पेशागत मर्यादामा अडिग रहदै आएका अधिकृत हुन् । नेपाल प्रहरीमा इमानदार र व्यावसायिक अधिकृतको छवि बनाएका थापालाई सरकारले आईजीपीमा बढुवा गरेपछि प्रहरी संगठनमा खुसियाली छाएको छ ।

थापासंगै आईजीपीको दौडमा एआईजी हरिबहादुर पाल समेत थिए । सरकारले थापालाई आईजीपीमा बढुवा गरेपछि पालको आईजीपी दौडमा ब्रेक लागेको छ ।

Share your thoughts!