अपराध महाशाखामा थापा, काठमाडौं परिसरमा ज्ञवाली

Posted on: April 24, 2020 | views: 1577 सुशासन संवाददाता

काठमाडौं, बैशाख १२ । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रवार एसएसपी सरुवाको निर्णय गरेका हुन् ।

सरुवाको निर्णयअनुसार काठमाडौं उपत्यकाको अपराध अनुसन्धान तथा नियन्त्रणको जिम्मेवारी पाएको महानगरीय अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा भएको छ । उनी दुई बर्षदेखी प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुख थिए । महाशाखामा रहेर नेपाल प्रहरीलाई बेरुजु फर्छ्यौटमा दुई बर्ष पुरस्कार दिलाउन सफल भएका एसएसपी थापा आफै पनि दुईवटै आर्थिक बर्षमा पुरस्कृत भएका थिए । यसअगाडी महानगरीय अपराध महाशाखाको प्रमुख रहेका सहकुल थापा डीआईजी बढुवा भएर केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) मा पदस्थापन भएपछी  महाशाखा नेतृत्वबिहिन थियो ।  

डीएसपी हुँदा खोटाङ, महाराजगन्ज बृत्त, इलाका प्रहरी कार्यालय बुटवल तथा एसपीको रुपमा जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड सम्हालेका एसएसपी थापा अपराध अनुसन्धान, पुलिसिङ तथा कमाण्ड कन्ट्रोलमा राम्रो दख्खल राख्छन् ।

त्यस्तै एसएसपीको लागि सबैभन्दा चुनौतीपूर्ण पोस्टिङ् मानिने महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी श्यामलाल ज्ञवालीको सरुवा भएको छ । यस अगाडी काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यरत उत्तमराज सुवेदी डीआईजीमा बढुवा भएपछी काठमाडौं प्रहरी नेतृत्वबिहिन थियो ।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसएसपी ज्ञवाली आईजीपी ठाकुरप्रसाद ज्ञवालीका सहोदर भाइ हुन् । ज्ञवाली एसपी हुँदा सिराहा र रुपन्देहीको कमाण्ड गरिसकेका छन् । उनी  महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए ।

Share your thoughts!