नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

Posted on: March 24, 2020 | views: 524 सुशासन संवाददाता

काठमाडौं, चैत ११ । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो । १५ फागुनमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

एआईजी बढुवाको यो निर्णयसंगै नवनियुक्त एआईजी शैलेश थापा क्षेत्री नेपाल प्रहरीको भावी प्रहरी महानिरीक्षक (आईजी) को प्रवल दावेदार बनेका छन् । हालका प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीले आगामी असार २४ मा तीसबर्षे सेवाहदका आधारमा अवकाश पाएपछि नवनियुक्त एआईजी क्षेत्री र पालबिच भावी प्रहरी महानिरीक्षक (आईजी) को लागि प्रतिस्पर्धा हुनेछ ।

एआईजी बढुवा सुचीको पहिलो नम्बरमा रहेका लम्सालले आईजी ज्ञवालीसंगै आगामी असार २४ मा अनिवार्य अवकाश पाउनेछन् ।

Share your thoughts!