सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

Posted on: January 10, 2020 | views: 142 सुशासन संवाददाता

काठमाडौं, पुस २५ । प्युठान, धनकुटा र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

प्युठान, स्वर्गद्वारी नगरपालिका-२ बाईनेटास्थित सडकमा शुक्रबार बिहान ना.३ ख ५५५९ नम्बरको बसको ठक्करबाट भारत यूपी सराबस्ती बस्ने २५ वर्षीय गुरु प्रसाद यादवको घटनास्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने २३ वर्षीय नथुराम यादवलाई उपचारको लागि दाङतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटा, चौबिसे गाउँपालिका-२ स्थित सडकबाट को.२८ प ८०५२ नम्बरको मोटरसाइकल बतासे-फिमरे खोल्सीमा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही स्थान बस्ने ३० वर्षीय टेक बहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको छ ।

तनहुँ, घिरिङ गाउँपालिका-३ थानिमाईस्थित सडकमा ग.१ ख ६१७५ नम्बरको बस अनिन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घिरिङ्ग गाउँपालिका-१ बस्ने २० वर्षीया मुना थापाको घटनास्थलमै तथा दुर्घटनामा गम्भीर घाइते भएकी सोही गाउँपालिका-३ बस्ने ४२ वर्षीया नानी माया गुरुङको फिष्‍टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते अन्य १६ जनालाई उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ पठाइएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!