सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Posted on: December 27, 2019 | views: 205 सुशासन संवाददाता

काठमाडौं, पुस ११ । काठमाडौं, मकवानपुर र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

काठमाडौं, तारकेश्वर नगरपालिका-३ पोटगाउँस्थित सडकमा ना.२ क ३३८ नम्बरको फोहोर बोक्ने टिफर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक मकवानपुर घर भएका ३० वर्षीय माईला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको छ ।

मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-३ ओखरडाँडास्थित सडकमा ना.१ ज ३४३३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा हाल नाम,थर,वतन नखुलेका १ जना महिला र २ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।

कञ्चनपुर, बेतकोट नगरपालिका-१० सिसैयास्थित सडकमा बिहीबार बिहान म.२ प ९९६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ४६ वर्षीय दिलिप केसीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको अञ्चल अस्पताल महाकाली हुँदै भारतको खटीमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुईजनाको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!