सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Posted on: November 30, 2019 | views: 96 सुशासन संवाददाता

काठमाडौं, मंसिर १४ । धनकुटा, महोत्तरी, गुल्मी र प्युठानका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धनकुटा, धनकुटा नगरपालिका-१ हिलेस्थित सडकमा को.२ त ८७२१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ट्याक्टरले किच्दा चालक धनकुटा नगरपालिका-१ सिंजाली गाँउ बस्ने ४५ वर्षीय राज कुमार मगरको घटनास्थलमै र गम्भीर घाइते भएका ट्याक्टरका सह-चालक सोही ठाउँ बस्ने २८ वर्षीय दल बहादुर सिंजाली मगरको विजयराज अस्पताल हिलेमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी, पिपरा गाउँपालिका-५ चाँदनी चोकस्थित सडकमा ज.९ प ७३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-३ बस्ने २५ वर्षीय प्रमोद दासको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ ।

गुल्मी, चन्द्रकोट गाउँपालिका-७ रैकरस्थित सडकमा लु.१ च ७२४८ नम्बरको जिप सडकबाट करिब १५ मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपका चालक सोही गाउँपालिका रुपाकोट बस्ने २५ वर्षीय लाल बहादुर नेपालीलाई उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ गुल्मी लगिएको छ ।

प्युठान, ऐरावती गाउँपालिका-५ पकला भन्ने स्थानबाट रा.१ च ७६४ नम्बरको एम्बुलेन्स सडकदेखि करिब ७ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका एम्बुलेन्समा सवार सोही ठाउँ बस्ने २८ वर्षीय रेशम थापाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!