प्रहरीमा सरुवाको तयारी, ललितपुर र रुपन्देहीमा चर्को प्रतिस्पर्धा

Posted on: August 10, 2019 | views: 2203 सुशासन संवाददाता

काठमाडौं साउन २५ । नेपाल प्रहरीको मुख्यालयले एक बर्ष समयावधि पुगेका युनिटको नेतृत्व परिवर्तन गर्ने तयारी थालेको छ । गतबर्षको साउनमा सरुवा भएको डीएसपी, एसपी र एसएसपीहरुको सरुवाको गृहकार्य अगाडि बढेसंगै नेतृत्व हत्याउन केही प्रहरी अधिकारीहरु चर्को दौडधुपमा लागेको उच्च स्रोतको दावी छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केही एसएसपीको सरुवाको तयारी थालेको छ । काठमाडौं पछि एसएसपीको लागि आकर्षक जिल्ला मानिने ललितपुर जान पाँच एसएसपीबिच चर्को प्रतिस्पर्धा देखिएको छ । हालका एसएसपी रबिन्द्रसिंह धानुकको एक बर्षे कार्यकाल पूरा भएसंगै आइजीपी सर्वेन्द्र खनालले ललितपुर प्रहरीको नेतृत्वमा एसएसपी उमेशराज जोशीलाई पठाउने तयारी गरेको उच्च स्रोतको दावी छ । उता गृहसचिव प्रेमकुमार राईले भने अर्का एसएसपी टेकप्रसाद राइलाई ललितपुर पठाउने चाहना देखाएका छन् । जोशी र राई प्रहरीका व्यावसायिक अधिकृत हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा डीआईजी खटाइएपछी त्यहाँको नेतृत्व गर्दै आएका एसएसपी सन्दीप भण्डारी बिदा बसेका छन् । भण्डारीले पनि ललितपुर जाने चाहना देखाएपनी आइजीपी खनालले उनलाई बुटवल तालिम केन्द्रको समादेशकमा पठाउन चाहेको स्रोत बताउँछ । 

उता महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य र श्यामलाल ज्ञवाली पनि ललितपुरको इन्चार्ज हुन शक्तिकेन्द्र धाइरहेको उनिहरु निकट स्रोतले जानकारी दिएको छ । एसएसपी बज्राचार्यलाई ललितपुर पठाउन बिबादास्पद पुर्व एआइजी रमेशशेखर बज्राचार्यले विभिन्न शक्तिकेन्द्रमा लबिङ गरिरहेको उच्च स्रोतले बतायो । त्यसो त बज्राचार्य आफैले पनि प्रधानमन्त्रीका ससुरालीतिर नाता गाँस्दै ललितपुर पठाइदिन अनुनयबिनय गरेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जानकारी दिएको छ । अर्का एसएसपी श्यामलाल ज्ञवाली पनि ललितपुर प्रहरीको नेतृत्व पाउन चर्को राजनितिक लविङमा छन् । 

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी बसन्तकुमार पन्तको कार्यकाल पूरा भइसकेकोले पन्तको ठाउँमा एसएसपी ज्ञवालीलाई पठाउने गृहको तयारी रहेको बुझिएको छ । एसएसपी शरद खत्रीले अवकाश पाएपछी संघीय प्रहरी इकाइ कार्यालय धरान अहिले नेतृत्वबिहिन छ । 

त्यस्तै संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनी, तालीम केन्द्र दुधौली, बुटवल, नेपालगन्ज र दिपायल लगायतका स्थानको नेतृत्व परिवर्तन हुँदैछ । बेरुजु फर्स्यौट गरेर नेपाल प्रहरीलाई  पुरस्कार दिलाएका आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई उपत्यकाको कुनै आकर्षक एवम् चुनौतीपूर्ण युनिटको जिम्मेवारी दिने तयारी गरिएको उच्च स्रोतको दावी छ । 

त्यसैगरी प्रहरी मुख्यालयले एसपी र डिएसपीहरुको सरुवाको तयारी थालेको छ । एसपीको लागि आकर्षक र चुनौतीपूर्ण पोस्टिङ् मानिने रुपन्देहीको प्रमुख हुन केही एसपीहरुको दौडधुप शुरु भएको बुझिएको छ । गतबर्ष अख्तियारबाट रुपन्देही गएका एसपी हृदय थापाको एकबर्षे कार्यकाल पूरा भइसकेको छ । रुपन्देही जान एसपीहरु नवराज अधिकारी, बिश्वमणी पोखरेल, कमल थापाको चर्को लबिङ छ । एसपी अधिकारी खानेपानीमन्त्री बिना मगर मार्फत आइजीपी खनाललाई दबाब दिएर रुपन्देही जाने दाउमा छन् । मन्त्री मगर र एसपी अधिकारी कंचनपुरमा छिमेकी हुन् । एसपी अधिकारीको ससुराली रुपन्देही हो । उनलाई रुपन्देही प्रहरी प्रमुखमा सरुवा गर्न बुटवल भैरहवा क्षेत्रका केही क्रसर व्यावसायीहरु नेकपा महासचिव बिष्णु पौडेलसंग लविङ गरिरहेको बिश्वस्त स्रोतले जानकारी दिएको छ । 

आइजीपी खनालले भने अख्तियारमा कार्यरत एसपी हेमकुमार थापालाई रुपन्देही पठाउन चाहेको प्रहरी मुख्यालय स्रोतले बतायो । करिब दुई बर्ष अख्तियारको इन्टेलिजेन्स शाखामा बसेर सयौं स्टिङ अपरेसनको नेतृत्व गरेका एसपी थापालाई रुपन्देहीको नेतृत्वमा पठाउन अख्तियारका उच्च अधिकारीहरुले पनि सिफारिस गरिसकेको बुझिएको छ । डिएसपी हुँदा महानगरीय प्रहरी बृत कालिमाटीको नेतृत्व गरेका उनी व्यावसायिक अधिकृतको रुपमा परिचित छन् ।

डिएसपी प्रमुख रहने उपत्यकाको महाराजगन्ज, कालिमाटी र बालाजु बृतको पनि नेतृत्व परिवर्तन हुँदैछ । आकर्षक जिल्ला मानिने सोलुखुम्बु जान डिएसपीहरु नारायण चिमरिया र सरोज पौडेलबिच चर्को प्रतिस्पर्धा देखिएको छ । डिएसपी पौडेललाई सोलुखुम्बु लैजान पुर्व मन्त्री कृपाशुर शेर्पाले गृहमन्त्रालयमा लविङ गरिरहेका छन् । 

ट्राफिक महाशाखामा कार्यरत डिएसपी प्रभु ढकाल पनि सोलुखुम्बु जान चाहेको स्रोत बताउँछ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेल युएन मिसन जाने भएपछि इटहरीको प्रमुख बन्न केही डिएसपीहरु राजनितिक लविङमा लागेको बुझिएको छ । डिएसपी प्रमुख रहने पाँचथर, ताप्लेजुङ र इलाका प्रहरी कार्यालय दमकको पनि नेतृत्व परिवर्तन हुँदैछ ।

Share your thoughts!