काठमाडौं बिजेश्वरीमा गोली चल्यो, एक घाइते

Posted on: August 09, 2019 | views: 788 सुशासन संवाददाता

काठमाडौं, साउन २४ । काठमाडौंको स्वयम्भू बिजेश्वरीमा केहिबेर अगाडि गोली चलेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलिसंगको मुठभेडमा एक ब्यक्ति घाइते भएका छन् ।

पक्रन खोज्दा भागेपछी प्रहरीले उनिमाथी गोली प्रहार गरेको हो। खुट्टामा दुई गाेली लागेर घाइते भएका लोप्साङ भन्ने मिलन लामालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएकाे अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । प्रहरीले लामासंगै रहेका अमृत तामाङलाई पनि नियन्त्रणमा लिएकाे छ ।उनीहरू गुण्डागर्दी र लुटपाटमा संलग्न रहेकाे प्रहरीले जनाएकाे छ ।


गोली लागि घाइते भएका लामाले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कासंग दुई करोड रुपैयाँ फिरौती माग गरेको र नदिए उनकी छोरीलाई गोली हानेर मारिदिने भन्दै धम्काएको उजुरी परेपछि महाशाखाले उनको खोजतलास तिब्र पारेको थियो । उनले लिखु हाइड्रोपावर र रामेछापमा निर्माणाधीन एक सडकका ठेकेदारसँग पनि रकम माग्ने गरेका थिए । उनको खोजतलासको लागि महाशाखाको विशेष टोलिका डिएसपी रुगम कुवँर नेतृत्वको टोलि बिजेश्वरी पुगेको थियो।


प्रहरी नियन्त्रणमा रहेका लामा र तामाङको सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी थापाले बताए।

Share your thoughts!