प्रहरी आचरण सुधार्न आइजीपीको 'मार्सल टिम'

Posted on: July 20, 2019 | views: 2369 सुशासन संवाददाता

काठमाडौ, साउन ४ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुले यदाकदा आचरण बिपरितको काम गर्ने गरेको गुनासो पश्चात आइजीपी सर्बेन्द्र खनालले विशेष टिम खडा गरेका छन्। 

गत महिना गठन भएको उक्त मार्सल टिमलाई प्रहरी कर्मचारीहरुले प्रहरी नियमावलीले निर्दिष्ट गरेको आचरण बिपरितका काम गरे नगरेको अनुगमन गर्ने र आचरण बिपरितको काम गरेको पाइएमा कारबाहीको सिफारिस गरे म्याण्डेट दिएको छ।

प्रहरी मुख्यालयका एसपीको नेतृत्वमा गठन गरिएको उक्त टिम आइजीपी खनालको प्रत्यक्ष नियन्त्रण तथा निर्देशनमा परिचालन हुने स्रोतको दावी छ। सादा पोशाकमा परिचालन हुने उक्त टिमलाई जुनसुकै समय तथा जुनसुकै प्रहरी कार्यालयमा  छिरेर आकस्मिक अनुगमन तथा चेकजाँच गर्न सक्ने अधिकार दिइएको छ।

प्रहरी जवान तथा अधिकृतहरुले गर्नसक्ने आचरण बिपरितका कार्यहरुलाई नियन्त्रण गर्न तथा गैरकानुनी कार्यमा संलग्नहरुलाई कारबाही गर्न उक्त टिम परिचालन गरिएको आइजीपी सचिवालय स्रोतले जानकारी दिएको छ। 'विभिन्न प्रहरी युनिटहरुको आकस्मिक अनुगमनमा भेटिएका कमि कमजोरीको बिषयमा मार्सल टिमका कमाण्डरले सोझै आइजीपी सर्बेन्द्र खनाललाई लिखित प्रतिवेदन बुझाउनेछन्।' प्रहरी मुख्यालयका एक उच्च अधिकारीले भने। 'प्रतिवेदन प्राप्त भएपछी आइजीपी सचिवालयको प्रहरी निरिक्षालय अन्तर्गतको उजुरी छानबिन शाखाले कारबाहीको प्रक्रिया अगाडि बढाउछ।' उनले भने।

उच्च स्रोतका अनुसार उक्त मार्सल टिमले गत साता उपत्यकाका दुई प्रहरी बृतको आकस्मिक अनुगमन गरिसकेको छ। टोलीले त्यहाँ देखिएका कमजोरीको बिषयमा आइजीपी खनाललाई रिपोर्टिङ गरिसकेको खुल्न आएको छ। 'कोभर्ट अपरेसन' (गोप्य अपरेसन) समेत गर्नुपर्ने हुनाले प्रहरी मुख्यालयले उक्त टिमका सदस्यको नाम गोप्य राखेको छ।

Share your thoughts!