कास्कीमा एसपी कार्कीको एक्सन, गोली हानेर एक लागुऔषध कारोबारी नियन्त्रणमा

Posted on: June 12, 2019 | views: 2807 सुशासन संवाददाता

पोखरा, जेठ २९  । कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको उत्तमचोकमा प्रहरीले एक लागुऔषध कारोबारीलाई एक राउन्ड गोली हानेर नियन्त्रणमा लिएको छ। 

लागू औषधको कारोबार भइरहेको सुचना पाएर जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष टोलीसंग मुठभेडमा उत्रिएपछि एक खुङ्खार लागूऔषध कारोबारीलाई खुट्टामा एक राउन्ड गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको छ।  "प्रहरीले पक्राउ गर्न खोज्दा अपरेसनमा खटिएका हाम्रो अफिसर माथी आक्रमण गरेपछी आत्मरक्षाका लागि लागुऔषध कारोबारी जोन भन्ने गोविन्द थापालाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएका छौं।" कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने। 

गोली लागेर घाइते भएका थापा वैदेशिक रोजगारमा कतारमा रहदा लागुऔषध मुद्दामा ३ बर्ष जेल सजाय पाएको अनुसन्धानमा खुल्न आएको छ। लागुऔषध कारोबारी थापाको आक्रमणबाट कास्की प्रहरीको विशेष टोलीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी सामान्य घाइते भएका छन्।

एसपी कार्कीको पोखरा आगमनसंगै आपराधिक समुहको भागाभाग शुरु भएको छ। कडा मिजासका एसपी कार्की दुई साता अगाडि कास्की प्रहरीको नेतृत्व सम्हालेका थिए। उनी नेतृत्वको प्रहरी टोलीले तीन दिनअगाडि नेकपा बिप्लब समुहका १८ जना नेता कार्यकर्तालाई घेरा हालेर पक्राउ गर्न सफल भएको थियो। आपराधिक गिरोहसंग कठोर रुपमा प्रस्तुत हुने उनलाई आइजीपी सर्वेन्द्र खनालले यसै महिना पोखरामा सरुवा गरेका हुन्। उनी यस अगाडि आइजीपी खनालको स्टाफ अफिसरको रुपमा प्रहरी मुख्यालयको आइजिपी सचिवालयमा कार्यरत थिए।

Share your thoughts!