काठमाडौंका एसएसपी भन्छन् "टोले गुण्डाहरुलाई ठेगान लगाइन्छ ।"

Posted on: May 09, 2019 | views: 178 सुशासन संवाददाता

काठमाडौं, वैशाख २६ । महानगरीय प्रहरी परिसर काठमाडौंका नवनियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले काठमाडौंको शान्ति सुरक्षा कायम राख्न कसैसँग सम्झौता नगर्ने बताएका छन् । 

बिहीबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एसएसपी सुवेदीले कानुनविरोधी गतिविधि गर्नेहरुमाथि प्रहरी कठोर भएर प्रस्तुत हुने बताए । सामाजिक विकृतिले जरा गाड्दै गएकाले त्यस खालका नकरात्मक क्रियाकलाप हटाउन प्रहरीले जनचेतना कार्यक्रम पनि गर्दै जाने पनि उनले बताए ।

‘सामाजिक विकृति हटाउन जनचेतनाको आवश्यकता हुन्छ । समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत हामी जनचेतना अभियान सञ्चालन गर्छौं,’ एसएसपी सुवेदीले भने । त्यस्तै, सेवाग्राही मैत्री प्रहरी कार्यालय बनाइने पनि उनले बताए। यसभन्दा अघिका प्रहरी प्रमुखले गरेका राम्रा काम र योजनालाई निरन्तरता दिँदै शान्ति सुरक्षा मजबुत बनाउँदै जाने एसएपी सुवेदीको भनाइ छ ।

त्यस्तै, टोले गुण्डाहरु विरुद्ध कठोर भएर प्रहरी उत्रने उनले बताएका छन् । ‘टोले गुण्डा र गलत बाटोमा लागेकालाई कानुनी कठ घरामा उभ्याइन्छ,’ एसएसपी सुवेदीले भने, ‘सम्झाउँदा नमान्ने विरुद्ध कानुनी उपचार खोज्न प्रहरी बाध्य हुन्छ । त्यही अनुसार अघि बढ्छौं ।’ काठमाडौंको अहिलेको चुनौतीको रुपमा ठगी, चेक बाउन्स, विस्फोटक पदार्थ, सामाजिक विकृति रहेको औल्याउँदै उनले यसविरुद्ध प्रहरी क्रियाशील भएर लाग्ने एसएसपी सुवेदीको भनाइ छ ।

Share your thoughts!