एआईजीको जिम्मेवारी हेरफेर, धिरु बस्न्यात सुरक्षा परिषदमा

Posted on: May 07, 2019 | views: 1169 सुशासन संवाददाता

काठमाडौं, वैशाख २४ । सरकारले नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी)को जिम्मेवारी हेरफेर गरेको छ ।

गत साताको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परुषदको सचिवालय सिंहदरबारमा काज खटाएको हो । सरुवा सुची अनुसार अपराध अनुसन्धान तथा कार्य विभागका एआईजी पुष्कर कार्कीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

आर्थिक हिनामिनाको आरोप लागेपछि गृहमन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदको बैठकले बस्नेतलाई अपराध अनुसन्धान विभागमा दरबन्दी रहने गरी राष्ट्रिय सुरक्षा परिषदमा काज सरुवा गरिएको स्रोत बताउँछ । तीन एआइजीको दरबन्दी रहेको नेपाल प्रहरीमा कार्यरत एआईजी ठूले राईको भने सरुवा गरिएको छैन । राई मानवस्रोत तथा प्रशासन बिभागको प्रमुखको रुपमा कार्यरत छन् । 

बस्न्यातलाई सुरक्षा परिषद सचिवालयमा काज खटाइएपछी अपराध अनुसन्धान तथा कार्य बिभाग नेतृत्वबिहिन बनेको छ । उच्च स्रोतका अनुसार उक्त बिभागको कायममुकायम प्रमुखको रुपमा एक नम्बर प्रदेश प्रहरी कार्यालयका डीआईजी केदार रिजाललाई ल्याउने गृहमन्त्रालयको तयारी रहेको बुझिएको छ । डीआईजी रिजाल प्रहरीमा व्यावसायिक तथा कडा मिजासका अधिकृतको रुपमा चिनिन्छन ।

Share your thoughts!